७ वैशाख २०८१, शुक्रवार

जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने

२७ वैशाख २०८०, बुधवार
Image

मेचीनगर, २७ बैशाख । मेचीनगरमा जिल्लास्तरीय अन्तर विद्यालय छात्र–छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । 

आज ईटाभट्टा स्थित झापा जिल्ला क्रिकेट संघको कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोजकले सो जानकारी गराएको हो ।

स्थानीय मिलन क्रिकेट क्लबको आयोजनामा जेठ ४ गतेदेखि झापा जिल्ला स्तरीय अन्तर विद्यालय छात्र, छात्रा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो । 

मेचीनगर नगरपालिका–६ स्थित तुर्केनी खेल मैदानमा आयोजना हुने प्रतियोगितामा जिल्ला भरीबाट विद्यालयहरुले सहभागिता रहने जनाएको छ ।

छात्रतर्फ १२ र छात्रा तर्फ ७ विद्यालय सहाभागी हुने प्रतियोगितामा छात्रतर्फको खेल १५ ओभरको रहनेछ भने छात्रातर्फको खेल १० ओभरको खेल सञ्चालन हुने खेलबारे जानकारी दिनुहुँदै आयोजक मिलन क्रिकेट क्लबका अध्यक्ष बिरु श्रेष्ठले बताए ।

प्रतियोगिताको बिजेता तथा उपबिजेताले क्रमशः नगद २० हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । म्यान अफ द म्याच, म्यान अफ द सिरिज, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट कपिर र उत्कृष्ट क्याचका रुपमा खेलाडी छनोट गरी अवार्ड प्रदान गरिनेछ । 

प्रतियोगितामा यसै क्षेत्रमा निरन्तर अभ्यास गर्दै क्रिकेट क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल खेलाडीहरु रुविना क्षेत्री, काजल श्रेष्ठ, अप्सरा बेगम लगायतको पनि प्रत्यक्ष सहभागिता रहने खेल संयोजक स्मृति कट्वालले बताइन् । 

जेठ ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा छात्रा तर्फको टिमलाई भने प्रवेश शुल्क नलाग्ने अर्की खेल संयोजक निशा शाहले जानकारी दिइन् ।



यसबर्ष पनि सोहि बार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए । 

स्थानीय स्तरका खेलाडीहरुको प्रतिभा, क्षमतालाई विकास गर्दै राष्ट्रिय खेलाडीका रुपमा चिनाउने उद्देश्यका साथ २०५२ सालमा स्थापना भएको यस क्लबले ५४ सालदेखि बार्षिक रुपमा निरन्तर क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।