१२ वैशाख २०८१, बुधवार

प्रहरी कार्यालयकै अगाडि वेवारिसे भए विरामी वृद्ध

८ जेठ २०८०, सोमवार

धुलाबारी, ८ जेठ । धुलाबारी इलाका प्रहरी कार्यालयबाट सय मिटर नजिक रामघाट (दाहसंस्कार गर्ने स्थल समेत)को चौतारामा सात दिनदेखि एक वृद्ध वेवारिसे अवस्थामा लडिरहनु भएको छ ।

भारतको सिक्किमस्थित सिम्ताङको जिरोमाइल घर बताउने ८० वर्षीय वृद्धले आफ्नो नाम बाबुराम सुबेदी बताउनु हुन्छ ।

“मेरो नाम बाबुरामा सुबेदी हो,” सुबेदीले लोकतन्त्र पोस्टसँग भन्नुभयो–“मेरा छोराछोरी र पत्नी सिक्किमको सिम्ताङको जिरोमाइलमा बस्छन् । म अहिले कसरी र कहाँ आइपुगेको छु, थाहा छैन ।”

वृद्ध र रोगी अवस्थाका सुबेदी सात दिनदेखि त्यही चिसो चौतारामा लडिरहेको रामघाट समितिको कार्यालयका चौकीदार कान्तुलाल राजबंशीले बताउनुभयो । उहाँले दिनमा दुईपटक वृद्धलाई खानेकुरा दिने गर्नुभएको छ ।

इलाका प्रहरी कार्यालय र मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनाललाई वृद्धाको वेवारिसे अवस्था बारे जानकारी छ । प्रहरीहरु आएर हेरेर गए तापनि उद्धारमा कुनै चासो देखाइएको छैन ।

आज वृद्ध वेवारिसे अवस्थामा रामघाटमा लडिरहेको थाहा पाएपछि धुलाबारी क्याम्पसका अध्यक्ष भीम खवास चौतारोमै पुग्नु भयो । उहाँले तत्काल उद्धार नभए वृद्धको मृत्यु हुनसक्ने अवस्था आफुले देखेको लोकतन्त्र पोस्टलाई बताउनुभयो ।

“एक सय मिटरभन्दा नजिकमा रहेको इलाका प्रहरी कार्यालयले यी वृद्धलाई छिटोभन्दा छिटो उद्धार गरेर अस्पताल पुर्याउनु पर्छ,” उहाँले भन्नुभयो ।

उहाँले प्रहरी, वडा र नगरका प्रतिनिधिले वेवास्ता गरेको सुन्दा दुःख लागेको जनाउँदै उहाँले मानवीय उद्धारका लागि खुलेका संघ संस्थाहरुलाई वृद्धको छिटो उद्धारका लागि आह्वान गर्नुभयो ।

दुर्गन्धका कारण वृद्ध बसेको चौतारो बसिनसक्नु भएको छ भने वृद्धले आफु विरामी भएको बताउनु भएको छ । नेपालको हेटौडामा समेत छोरी र ज्वाई भएको उहाँले बताउनु भएको छ ।

धुलाबारीको प्राथमिक स्वास्थ्य केन्द्र एक किलोमिटरको दूरीमा रहेको छ भने मेची आम्दा अस्पताल तीन किलोमिटरको दूरीभित्रै छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्