१४ वैशाख २०८१, शुक्रवार

झापामा मिटरव्याजी पीडितद्वारा १०२ निवेदन दर्ता

१८ जेठ २०८०, बिहिवार
Image

झापा, १८ जेठ । जिल्ला प्रशासन कार्यालय झापामा अनुचित लेनदेन (मिटर व्याजी)का १०२ जना पीडितहरुले निवेदन दर्ता गराएका छन् । 

गत बैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म दुइपटक म्याद थपेर जिप्रकामा उजुरी दर्ता गराउन नेपाल सरकारले सूचना जारी गरेको थियो । सोही अवधिमा १०२ जनाको निवेदन परेको हो । जसमध्ये तीन जना विपक्षीले समेत कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । 

उहाँले निवेदन दर्ता गराउनेमा बार्षिक ३६ प्रतिशत व्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने बढी रहेको बताउनुभयो । मिटरव्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेका, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएकालगायतका निवेदन छन् । 

जिल्लाका १५ पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट निवेदन बढी परेको उहाँको भनाई छ । उहाँले मिटर व्याजी पीडितले रु.पाँच लाखदेखि एक करोडसम्मको कारोवारको दाबी गरिएको निवेदन कार्यालयमा परेको जानकारी दिनुभयो । उहाँले कार्यालयमै मिटर व्याजी पीडित सहायता कक्षमा निवेदन दर्ता गराउने गरिएको बताउनुभयो । 

सहायक प्रजिअ न्यौपानेले हालसम्म परेका पाँचवटा भन्दा बढी निवेदन उपर छलफल गरी लेनदने गर्ने व्यक्तिहरुबीच आपसी सहमति भएको समेत बताउनुभयो । प्रशासनले मिटर व्याजी पीडितलाई अन्तिम पटक यही जेठ १४ गतेभित्र निवेदन दिइसक्न सूचना जारी गरेको थियो । निवेदन दिन म्याद सकिएको दुई दिनपछि मंगलबार पनि थप दुई जना निवेदन लिएर कार्यालयमा आएका थिए । सरकारले पुन म्याद थप गरेर निवेदन लिन सूचना गरे मात्र सो निवेदन लिन सकिने भन्दै कार्यालयले उनीहरुलाई फिर्ता पठाएको छ ।