१४ वैशाख २०८१, शुक्रवार

मेची अभियानले बनाइदियो अग्नीपीडितको घर

१९ जेठ २०८०, शुक्रवार
Image

मेचीनगर, १९ जेठ । मेची अभियानको सहयोगमा निर्मित मेचीनगर–२ अग्नीपीडित केवल निरौलाको घर एक कार्यक्रमबीच परिवारलाई हस्तान्तरण गरिएको छ ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको विशेष उपस्थितिमा विहीवार मेची अभियानले निरौला परिवारलाई सम्मानसहित घर हस्तान्तरण गरेको हो ।

एक वर्ष अघि आगलागी भएर निरौला परिवार घरविहीन भएका थिए । टेम्पो चलाएर वृद्धावस्थाका आमाबुवा, साना छोराछोरी र पत्नीको जीविका धानिरहेका केवल निरौलाको दयनीय अवस्थालाई दृष्टिगत गरी मेची अभियानले घर बनाउने अभियानको नेतृत्व गरेको प्रतिनिधिसभा सदस्य शर्माले बताउनुभयो ।

सो घर निर्माणमा आफुले रु. ११ हजार सहयोग गरेको स्मरण गर्दै सांसद् शर्माले झापा निर्वाचन क्षेत्रभरि आगलागीबाट घरवारविहीन भएको परिवारलाई नयाँ घर बनाउन सांसद् भए वापत आउने पारिश्रमिकबाट सहयोग गर्ने घोषणा गर्नुभयो ।

‘कोही कसैले पनि अग्नीपीडित हुनु नपरोस्, यदि कोही भइहाल्नु भएछ भने म मेरो सांसद्को पारिश्रमिकबाट उहाँहरुको घर निर्माणमा सहयोग गर्नेछु’–शर्माले भन्नुभयो । 

निरौलाको घर निर्माणमा मेची अभियानमार्फत रु. नौ लाख जुटेको र बाँकी लागत घरधनी परिवारले नै व्यहोरेको मेची अभियानका अध्यक्ष बिजय डालमियाले जानकारी दिनुभयो । 

घर हस्तान्तरण अवसरमा केवल निरौलाका वुवा र आमालाई दोसल्ला ओढाएर सांसद् शर्माले सम्मान गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस झापा क्षेत्र नं.. १ का सभापति इन्द्र बुढाथोकी लगायतका पार्टी कार्यकर्ता र स्थानीयबासीको उपस्थिति रहेको थियो ।