१४ वैशाख २०८१, शुक्रवार

दमकमा ‘लम्पी स्किन’ रोगविरुद्ध नि:शुल्क भ्याक्सिन

२२ जेठ २०८०, सोमवार
Image

झापा, २२ जेठ । दमक नगरपालिकाले ‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु गरेको छ । नगरले महामारीको रुपमा फैलिएको यस रोगको नियन्त्रण गर्न किसानको गोठ गोठसम्म पुगेर नि:शुल्क भ्याक्सिन लगाउन थालेको हो । 

नगरको पशुसेवा शाखाका प्रमुख गणेशकुमार प्रधानले जिल्लामै पहिलोपटक दमक नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रणका लागि रु. १० लाख बराबरको भ्याक्सिन खरिद गरेर नि:शुल्क लगाउन थालेको बताउनुभयो । 

“विगत तीन बर्षअघि देखा परेको रोग अहिले महामारीकै रुपमा फैलियो”, उहाँले भन्नुभयो, “रोग नियन्त्रण गर्ने एक मात्र माध्यम भ्याक्सिन हो । बजेटले भ्याएसम्म नि:शुल्क लगाईदिन्छौं ।” उहाँले टोल विकास समितिमार्फत प्राविधिकलाई किसानको गोठ गोठमा पुर्याएर भ्याक्सिन लगाउन निर्देशन दिइएको बताउनुभयो । 

रोग नलागेका बस्तुलाई मात्र भ्याक्सिन लगाउन थालेका उहाँको भनाई छ । उहाँले नगर क्षेत्रका साढे चार हजार गाई गोरुलाई पुग्ने गरी भ्याक्सिन खरिद गरिएको बताउनुभयो । शनिवारदेखि नै वडा नम्बर १० बाट भ्याक्सिन लगाउन सुरु गरिएको उहाँले बताउनुभयो । उहाँलै दुई दिनमा ७०० वटा गाई गोरुलाई भ्याक्सिन हालिसकेको बताउनुभयो ।

दमक नगरपालिकामा लम्पी स्किन रोगबाट हाल तीन हजार बढी गाई, गोरु, राँगा, भैसी विरामी भएको उहाँले जानकारी दिनुभयो । उहाँले प्रति भ्याक्सिन रु. २२९ का दरले खरिद गरेर किसानलाई राहत पुर्याउने उद्देश्यले नि:शुल्क दिएको बताउनुभयो । यस अघि जिल्लाका विभिन्न पालिकाका किसानले आफैं भ्याक्सिन खरिद गरेर पशुलाई हान्दै आएका छन् । –––