८ वैशाख २०८१, शनिवार

भाइरल भयो सिरिसको राताम्य फूल

२३ जेठ २०८०, मङ्गलवार
Image


झापा, २३ जेठ । झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा सिरिस फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ । 

झापा र इलामको सीमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरु इलाम, पाँचथर र ताप्लेजुङ जाने अधिकांश यात्री एकछिन रोकिएर रमाउने र फोटो खिचाउने गरेका छन् । 

सिरिस फूलको सौन्दर्यले मोहित हुँदै खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिरालो जमिन भएकाले भूक्षय हुन नदिन सिरिसका विरुवा हुर्काइएको थियो । पुराना ती रुखहरु वर्षमा एकचोटी फूलेर राताम्य हुँदा पर्यटकीय आकषर््ाणको केन्द्र बन्ने गरेको हो ।

सिरिस फूल्न थालेपछि हरेक दिन पाँच सय मानिस सो स्थानमा घुमफिरका लागि आउने गरेका छन् । पर्यटकको ओइरो लागेपछि चिया, खाजा र पानी बेच्ने साना व्यवसाय फस्टाएको छ । 

“सिरिस फूलेपछि मानिसको ओइरो लाग्यो, त्यसपछि मैले पनि यहाँ पानी, कुरमुरे जस्ता सामान बेच्न थालेको छु,” बुद्धशान्ति–४ का अर्जुन घिमिरे भन्नुहुन्छ–“पहिला बुधवारे बजारमा दोकान चलाउँथे । अहिले यही भाइरल सिरिसको फेदमा बसेर व्यापार चलाइरहेको छु ।” अरुभन्दा शनिवार भीड र्उिर्लने गरेको उहाँले बताउनुभयो ।

एक साता अघि अस्ट्रेलियाको ब्रिसबेनबाट स्वदेश फर्कनु भएकी इटहरी–४ की अनुष्का कटुवाललाई इलामको पर्यटकीय स्थल श्रीअन्तु जाँदै गर्दा बर्नेको भाइरल सिरिसको फूलले लोभ्यायो । परिवारका १२ जना सदस्यसहित आउनु भएको उहाँले रिजर्व गाडीलाई राजमार्ग छेउमा पार्किङ गराएर एक घण्टा फोटो र भिडियो खिचाउनमा बिताउनुभयो ।

“चिया बगानको हरियाली हेर्दै इलामतिर जाँदैथियौं, रुखभरि रातो रंग पोतेजस्तो गरी फूलेको सिरिसका रुखहरु बाटामा लहरै उभिएका देखेपछि मनै थामिएन,” उहाँले भन्नुभयो–“वरिपरि चिया बगानको हरियाली, माझमा चिल्लो राजमार्ग र लहरै फूलको सिरिसहरु । साह्रै राम्रो ठाउँ रहेछ ।”

उहाँले राताम्य फूललाई पृष्ठभूमिमा राखेर १२ वटा टिकटक र मनलाग्दी सेल्फी खिचेको बताउनुभयो । अस्ट्रेलियातिर सार्वजनिक पार्कहरुमा सिरिसको रंगिबिरंगी फूलले पर्यटकलाई लठ्याउने गरेको देखेको बताउँदै उहाँले यति धेरै मानिसको भीड लागे तापनि यहाँ पार्किङ, शौचालय र गफिने चौतारोहरुको अभाव रहेको गुनासो सुनाउनुभयो । 

भोजपुरको अरुण–४ घर बताउने ३० वर्षीय अर्पण राईले पाँचथरको फालेलुङ जाँदै गर्दा भाइरल सिरिसको फूलमा केही भिडियो बनाउन पाउँदा आनन्द लागेको बताउनुभयो । फूलको फेदमा गिटार रेटेर गीत गाउँदै गरेको सात वटा भिडियो खिचेको उहाँले बताउनुभयो ।

“फूल त एउटा सिजनमा मात्र फूल्छ, तर यहाँ चिया बगानको सदाबहार हरियाली रहेकाले दीगो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ,” उहाँले भन्नुभयो । गर्मीको मौसममा सिरिसको बोटमुनि शितल छाया पाइने र त्यसमाथि फूलको सौन्दर्यले गर्दा मानिसको ओइरो लाग्नु स्वाभाविक भएको उहाँको भनाई छ ।

के पाका, के युवा तथा बालबालिका, सबै उमेरका पाहुना त्यहाँ पुग्ने गरेका छन् । इटहरीका ६३ वर्षीय बलराम कटुवाल छोरीछोरीहरुको आग्रहमा भाइरल सिरिसको बोटमुनि टिकटकका लागि छमछमी नाचिरहनु भएको भेटियो । “छोरीहरुले कर गरेपछि नजानी नजानी पनि नाचेको हुँ, तर यो ठाउँ चाहिँ साह्रै मज्जाको रहेछ”– इलाममा घुम्न जाने क्रममा बाटैमा फूलको रौनक देखेर टिकटक बनाउनतिर लागेको उहाँले बताउनुभयो । 

भाइरल सिरिसको चर्चा सामाजिक सञ्जालमार्फत फैलिएपछि टिकटक बनाउनकै लागि भनेर साथीहरुसँग घुम्न आएको भद्रपुर–३ की रेबिका थापाले बताउनुभयो । चन्द्रगढीको वीरेन्द्र नमुना क्याम्पसका शिक्षा संकायको स्नातक  प्रथम वर्षमा अध्ययनरत् उहाँले धेरैजसो साथीहरु सिरिसको फूलसँग फोटो र भिडियो खिचाउन यसअघि नै आइसकेको बताउनुभयो ।

झापामा पर्यटकीय आकर्षणका स्थलहरु प्रशस्त रहेको र फूलको सौन्दर्यले मानिसको मनलाई उल्लासित बनाउने भएकाले फूलेका सिरिसका रुखहरु भाइरल भएको फोटो पत्रकार देबेन्द्र खरेल बताउनुहुन्छ । “यो ठाउँ राजमार्गबाट नजिक र हरियाली चियाका बोटहरुले घेरिएको कारण धेरै मानिसहरुको रोजाई बनेको हो,” उहाँ भन्नुहुन्छ–“फूल फूलेरै सुन्दर बनेका यस्तै दर्जनौं स्थलहरु हाम्रै वरपर छन् ।” सामाजिक सञ्जालमा प्रकाशित गरिएका तस्वीर र दृश्यका कारण टाढादेखि आन्तरिक पर्यटकहरु सिरिसको फूलको सौन्दर्यप्रति मोहित बनेको उहाँको ठम्याई छ ।

ठाउँ सुन्दर र फूल झन् सुन्दर भएरै त्यहाँ सिरिसको फूल हेर्न पर्यटकहरुको ओहोरदोहोर बढिरहेको छ । छोटो अवधिमै नयाँ पर्यटकीय गन्तब्यस्थलको रुपमा विकसित बनिरहेको त्यस ठाउँमा राजमार्गतिर उभिएर आफ्नै धुनमा फोटो र भिडियो खिच्ने प्रवृत्ति बढ्दा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । अर्कातिर, पर्यटकको सुविधा र सहजताका लागि शौचालय, खाजाघर र सुरक्षाको पर्याप्त प्रबन्ध हुन सकेको छैन ।–––



लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।