१२ साउन २०८१, शनिवार

नारी सञ्चार गृहले महासंघलाई सोध्यो–‘विभेद् किन ?’

४ असार २०८०, सोमवार
Image

झापा, ४ असार । झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहले नेपाल पत्रकार महासंघ झापालाई शुद्धिकरणका बारेमा विभेद् नगर्न चेतावनी दिएको छ ।

सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको नेतृत्वमा आज नेपाल पत्रकार महासंघको झापा शाखामार्फत कोशी प्रदेश समिति र केन्द्रीय समितिलाई शुद्धिकरणमा भइरहेको विभेद् र पक्षपातपूर्ण व्यवहारप्रति विरोध जनाउँदै ज्ञापन पत्र पठाइएको छ ।

एकै प्रकृतिका फरक संघ संस्थामा कार्यरत व्यक्तिलाई शुद्धिकरणको कसीमा झापाको पत्रकार महासंघले व्यक्ति अनुसार फरक फरक व्याख्या गरेको नारी सञ्चार गृहको ज्ञापन पत्रमा उल्लेख छ । 

शुद्धिकरण कार्यान्वयन गर्दा केन्द्रले तोकेको १५ बुँदा कार्यान्वयन गर्नुको साटो महासंघको झापा शाखाले आफुखुशी गरेको भन्दै नारी सञ्चार गृहले आपत्ति जनाएको छ ।

महासंघको शुद्धिकरण निष्पक्ष र निःस्वार्थ हुनुपर्ने माग गर्दै नारी सञ्चार गृहले तीन वर्षयता पूर्ण निष्क्रिय नभएका पत्रकार महिलालाई शुद्धिकरण नगर्न जोडदार आग्रह गरेको छ ।

शुद्धिकरणको विषयमा नकारात्मक टिकाटिप्पणी गर्ने वातावरण कसरी र किन आयो भनेर नारी सञ्चार गृहले प्रश्न पनि गरेको छ ।

नारी सञ्चार गृहकी अध्यक्ष गौतमको नेतृत्वमा रहेको टोलीले आजै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई भेटी ज्ञापन पत्र बुझाएको हो । सो ज्ञापन पत्र झापा शाखामार्फत कोशी प्रदेश र केन्द्रीय समितिलाई पठाइएको अध्यक्ष गौतमले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ झापा शाखाले शुद्धिकरणमा आफुखुशी गरेको भन्दै प्रेस चौतारी झापा समेत यसअघि नै आन्दोलित छ ।