१२ साउन २०८१, शनिवार

लिखतहरु त्रुटीरहित हुनुपर्छ : नगर प्रमुख गोम्देन

४ असार २०८०, सोमवार
Image

अर्जुनधारा, ४ असार । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले ठिक र त्रुटीरहित ढंगले लिखत राखिनु पर्ने बताउनु भएको छ ।

टाइम्स मिडिया नेटवर्कले आयोजना गरेको तीन दिवसीय लेखन शीप कार्यशालाको आइतवार समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गोम्देनले स–साना त्रुटिले धेरै नागरिकहरु अन्यायमा परेको बताउनुभयो । 

उहाँले कुनै पनि मुद्धा मामिला वा गाउँघरमा हुने लिखतमा धेरै संवेदनशील हुनुपर्ने भनाई राख्नु भएको थियो । एउटा कित्ता नम्बरमा मात्रै त्रुटि हुँदा ठुला–ठुला घटना भएको उहाँको तर्क थियो । 

नगर उपप्रमुख तथा न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले लेखनशीप कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

उजुरी लेखन, लेनदेन, वैनाबट्टा, सम्झौता, करारनामा, जाहेरी, मेलमिलाप आदि लेख्न सबै सक्षम हुनुपर्ने पराजुलीको भनाई थियो ।

अर्जुनधारा–७ स्थित पितृ मोक्ष भवनमा आयोजित कार्यक्रममा नगरक्षेत्रका ४० जना बढीको सहभागिता रहेको थियो । 

टाइम्स मिडियाका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख गोम्देन, उपप्रमुख पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, बोर्ड सदस्य चन्द्रा तामाङ, कानुन अधिकृत एलिना घिमिरे लगायतले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

अधिवक्ता हेमकला कट्टेल र चुडामणि पराजुलीले कार्यक्रममा सहजिकरण गर्नु भएको थियो । जहाँ उजुरी,  प्रतिउत्तर, फिराद, संयुक्त उजुरी, जाहेरी, लेनदेन, मिलापत्र, सीमा विवाद लगायतका विषयमा लेखनशीप प्रदान गरिएको थियो ।

उक्त कार्यशालाको कार्यक्रम संयोजनको भूमिका टाइम्स मिडियाका सदस्य एवम् इजलाश दैनिकका सम्पादक प्रदीप परियारले निर्वाह गर्नु भएको थियो ।