१२ साउन २०८१, शनिवार

पोखरेललाई द्रोणाचार्य पुरस्कार

६ असार २०८०, बुधवार
Image

मेचीनगर, ६ असार । झापाका अग्रज पत्रकार गणेश पोखरेल द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । 

प्रेस चौतारी झापाले स्थापना गरेको सो पुरस्कारको नगद राशी ५१ हजार रुपैयाँ छ ।

झापाका कम्युनिस्ट नेता द्रोणाचार्य क्षेत्रीको ३० औं स्मृति दिवसमा आज क्षेत्रीका समकालीन जनपक्षीय सांसद् एवम् नेपाली कांग्रेसका नेता केशव कुमार बुढाथोकीले उक्त पुरस्कार वितरण गर्नुभयो । 

बिगत अढाई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार पोखरेल नेपाल प्रेस काउन्सिलका सदस्य, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् रेडियो भिजनका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

प्रेस चौतारी झापाले १७ वर्ष अगाडि स्थापना गरेको यस पुरस्कारबाट लीला बराल, शिव गाउँले, माधव बिद्रोही र रघु मैनाली पुरस्कृत भइसक्नुभएको छ । 

द्रोणाचार्य स्मृति प्रतिष्ठान झापाले प्रेस चौतारी झापासँगको सहकार्यमा उक्त पुरस्कार वितरण गरेको हो । 

प्रतिष्ठानका अध्यक्ष रविन कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा स्व. क्षेत्रीका छोरा देबेन्द्र आचार्य, पुरस्कृत पत्रकार गणेश पोखरेल, मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, पूर्व प्रदेश सांसद बसन्त बानियाँ लगायतले मन्तब्य व्यक्त गर्दै स्व. क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

सोही अवसरमा प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रमणि पौडेल र पूर्व अध्यक्ष विनोद प्रसाद पोखरेललाई सम्मानित गरिएको थियो ।