२७ वैशाख २०८१, बिहिवार

‘दर्पण छायाँ’का नायक प्रधानले हेरेनन् ‘आदिपुरुष’

८ असार २०८०, शुक्रवार
Image

काँकरभिट्टा, ८ असार । ‘दर्पण छायाँ’का नायक उत्तम प्रधानले विवादास्पद हिन्दी सिनेमा ‘आदिपुरुष’ नहेरेको बताउनु भएको छ ।

आज काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उहाँले उक्त सिनेमा नहेरे तापनि त्यसले नेपालकी छोरी सीताको बारेमा विवादास्पद संवाद बोकेको बारेमा थाहा पाएको बताउनुभयो ।

उहाँले कुनै पनि पौराणिक र समुदायको आस्थासँग जोडिएको विषयमा बनाइने सिनेमामा सत्य र तथ्यलाई बंग्याउनु राम्रो नमानिने धारणा व्यक्त गर्नुभयो । उहाँले आदिपुरुषमा नेपालमा जन्मिएकी सीताका बारेमा भ्रामक संवाद समावेश गरिएकोमा स्वाभाविक रुपमा असन्तुष्टि व्यक्त भइरहेको बताउनुभयो ।

भारतको सिक्किम निवासी कलाकार उत्तम प्रधानले दुई दशक अघि दर्पण छायाँ लगायतका सुपरहिट सिनेमामा अभिनेताको भूमिका निर्वाह गर्नुभएको थियो ।

लामो अवधिपछि दर्पण छायाँको सिक्वेलको रुपमा उही नाम दिएर नयाँ सिनेमा बनाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 

सिक्किमको चलचित्र विकास बोर्डमा अध्यक्ष भएर ५ वर्षे कार्यकाल पूरा गरेका प्रधानले आवश्यकता अनुसार सिक्किमको राजनीतिमा जाने बताउनुभयो ।

उहाँले नेपाली दर्शकबाट पाएको अपार माया कहिल्यै नभुल्ने उल्लेख गर्दै भविष्यमा दर्पण छायाँको नया सिक्वेल लिएर आउँदा उस्तै धेरै माया पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलन काँकरभिट्टाको होटल ताजमा भएको थियो । कार्यक्रमको सञ्चालन मेचीनगर अनलाइनका सम्पादक अर्जुन कार्कीले गर्नु भएको थियो । सो अवसरमा सिने नायक प्रधानकी पत्नी संगीता प्रधानको समेत उपस्थिति रहेको थियो ।