१२ साउन २०८१, शनिवार

शहिद वीरेन र विश्वनाथको स्मृतिमा सडकको नामाकरण

१६ असार २०८०, शनिवार
Image

झापा, १५ असार । मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका झापाका दुई शहिदको स्मृतिमा सडकको नामाकरण गरेको छ ।

मेचीनगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई ‘शहिद विश्वनाथ घिमिरे मार्ग’ नामाकरण गरेको नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो । यो सडक १९ किलोमिटर लामो छ । यसअघि यो सडकलाई मेची करिडरको रुपमा परिचित थियो ।

यसैगरी, पूर्वपश्चिम राजमार्गकै धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुर नगरपालिकाको घोडामारा जोड्ने १५ किलोमिटर सडकलाई ‘शहिद वीरेन राजबंशी मार्ग’ नामाकरण गरिएको नगरप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

मेचीनगर नगरपालिकाको आज सम्पन्न नगरसभामा विशेष प्रस्ताव अनुमोदन गरेर ती दुई सडकको नामाकरण गरिएको हो । नामाकरण प्रस्ताव नगर प्रमुख बुढाथोकीले राख्नु भएको थियो । प्रस्ताव सर्वसहमतिबाट अनुमोदन भएको थियो ।

वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने निहुँमा झापा र इलामको सीमानास्थित घनघोर सुखानी जंगलमा पञ्चायती शासकहरुले गोली हानी कम्युनिस्ट राजबन्दी वीरेन राजवंशीको हत्या गरेका थिए । 

झापा विद्रोहको क्रममा भएको सो घटनामा राजबंशीसँगै पाँच जना विद्रोही नेताको हत्या भएको थियो । जसलाई नेपाल सरकारले शहिदको रुपमा सम्मान दिइसकेको छ । शहिद वीरेन राजबंशीको घर सोही सडकको ज्यामिरगढी खण्डमा रहेको छ ।

त्यसैगरी, शहिद विश्वनाथ घिमिरेलाई ‘झापाका प्रथम सहिद’को रुपमा सम्मान दिइँदै आएको छ । नेपाली कांग्रेसको नेताको रुपमा तत्कालीन बाहुनडाँगीको जनपक्षीय प्रधानपञ्च निर्वाचित घिमिरेलाई पञ्चायती शासकहरुले वि.संं. २०१९ जेठ ३१ गते निन्दा खोलाको किनारमा बाटो छेकी गोली हानी हत्या गरेका थिए ।

शहिद राजबंशीको ज्यामिरगढीमा र शहिद घिमिरेको बाहुनडाँगीमा प्रतिष्ठान तथा शालिक निर्माण भएको छ । आफ्ना हजुरबुबाले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिनु भएको शहादतको मूल्यांकन गर्दै नगरपालिकाले सडकको नामाकरण गरेकोमा शहिद विश्वनाथ घिमिरेका नाति पंकज घिमिरेले आभार व्यक्त गर्नुभएको छ ।