२० वैशाख २०८१, बिहिवार

हात्ती आक्रमणमा ज्यान गुमाउने झापामा बर्षेनी बढ्दै

१८ असार २०८०, सोमवार
Image

झापा, १८ असार । झापामा बर्षेनी जंगली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या बढिरहेको छ । जंगलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्था र चिया बगानमा मानिसहरु जंगली हात्तीको निशानामा पर्ने गरेका छन् । 

झापाकै सामुदायिक बनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने भारतीय जंगली हात्तीले मानवीय क्षति गरिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो । 

उहाँले गत बर्षको तुलनामा हात्ती आक्रमणमा परी ज्यान गुमाउनेको संख्या बढेको जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक बर्षको साउन महिनादेखि हालसम्ममा आठ जनाले हात्ती आक्रमणमा ज्यान गुमाएका छन् भने सात जना घाइते भएका छन् । 

गत बर्ष सोही अवधिमा छ जनाले ज्यान गुमाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आहाराको खोजीमा गाउँ, शहर पस्ने हात्तीको निशानामा मानिस परेको उहाँको भनाई छ । केही समय अघिसम्म सामुदायिक वन आसपासमा मात्र हात्तीको जोखिम रहेको थियो । तर, आजकल हात्ती शहरभित्रै पसेर मान्छे मार्न थालेको छ ।

“हुलमा भन्दा पनि एक्ले हात्तीले मान्छे मारिरहेको छ”, प्रमुख राई भन्नुहुन्छ,–“हात्ती अब अटेर भइसकें । शहर पसेर मान्छे मार्न थाल्यो ।” आज विहान मात्र धुलाबारी बजारमा पूजाका लागि फूल टिप्न सडकमा हिँड्दै गरेकी ८० बर्षीया पन्नादेवीको हात्ती आक्रमणमा घटनास्थलमै मृत्यु छ ।

बृद्धालाई मारेर उत्तरतर्फ लागेको हात्तीले बुद्धशान्ति गाउँपालिका–५ मा ३८ बर्षीया कमला धिमाललाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चिया बगानमा काम गर्न जाने क्रममा बाटोमै धिमाल हात्ती आक्रमणमा परेर घाइते हुनुभएको थियो । उहाँको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । 

झापाका स्थानीय तहले हालै मात्र बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लामा बर्षेनी हात्ती आक्रमणमा मानवीय क्षतिसँगै लाखौंको अन्नबाली समेत नष्ट हुँदै आएको छ । तर बजेटमा पालिकाहरुले हात्ती नियन्त्रणका लागि नै भनेर रकम उल्लेख गरिएको पाइदैन । 

मेचीनगर नगरपालिकाको बाहुनडाँगी हात्ती नेपाल प्रवेश गर्ने मुख्य गौडो मानिन्छ । सो क्षेत्रमा लगाएको विद्युतीय घेराबार समेत तोडेर दैनिक हात्ती गाउँ पस्ने गरिरहेका छन् । पालिकाले नीति तथा कार्यक्रममा जंगली हात्तीको प्रकोपको क्षतिलाई नियन्त्रण गर्न निर्माण गरिएको विद्युतीय घेराबारको मर्मत सम्भार तथा स्तोरन्नति गरिने र सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्ती रोक्न संघ र प्रदेश सरकारसँग पहल गर्ने नीति तथा बजेट कार्यक्रममा उल्लेख गरेको छ ।

पालिकाले हात्तीलगायतका जंगली जनावरलाई खेदाउन साइरन खरिदका लागि रु. तीन लाख, हात्ती प्रकोप तथा विपद व्यवस्थापनमा रु तीन लाख बजेटमा विनियोजन गरेको छ । नगरको वडा नम्बर ४ ले भने हात्ती मैत्री किसान समूहलाई बेमौसमी तरकारी खेतीका लागि रु. ५० हजार र हात्तीले मारेको पीडित परिवारका सदस्यलाई रु १२ हजारका दरले रकम दिइने बजेटमा उल्लेख गरिएको छ ।

वडा नम्बर ३ ले हात्ती धपाउनका लागि फगी लाइट खरिदका लागि रु. ५० हजार बजेट छुट्याएको छ । १५ वडा रहेको पालिकाका अन्य वडाले भने एक रुपैया बजेट समेत हात्ती नियन्त्रणका लागि छुट्याएको बजेट पुस्तिकमा पाइदैन ।–––


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।