२३ वैशाख २०८१, आइतवार

ज्यामिरगढीका जयरामद्वारा सगरमाथाको ८१०० मिटर आरोहण

२४ असार २०८०, आइतवार
Image

मेचीनगर, २४ असार । मेचीनगर–१५ ज्यामिरगढीका २६ वर्षीय जयराम दाहालले ८ हजार १०० मिटरको उचाई सफलतापूर्वक आरोहण गर्नु भएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गत चैतमा उहाँ सगरमाथा मिसनमा जानु भएको थियो । 

चुचुरोमा पुग्न ७०० मिटर मात्र बाँकी रहँदा दाहिने हातको औला हिउँले खाएर घाइते भएपछि उहाँ फर्किन बाध्य हुनुपरेको थियो ।

हिमाल पदयात्रा सम्बन्धी गाइडको रुपमा लामो अवधिदेखि कार्यरत दाहालले सगरमाथा आरोहणमा जाँदाको रोमाञ्चक अनुभूति आज मेचीनगरका पत्रकारहरुलाई सुनाउनु भयो ।

‘सगरमाथा चढ्ने मेरो सानैदेखिको धोको थियो,’ उहाँले भन्नुभयो–‘यसपटक हिउँले औला खाएका कारण चुचुरोको नजिकै पुगेर फर्किन बाध्य हुनुपर्यो । आउँदो साल चुचुरोमा पुगेरै आउँछु ।’

नेपालमा ८००० मिटर माथिका १४ वटा चुचुरो रहेको र ती सबैको आरोहण जीवनमरणको सवाल बन्ने उहाँले बताउनुभयो । 

यस अघि उहाँले सगरमाथा नजिकैको ६००० मिटर माथिको आइल्यान्ड चुचुरोको सफलतापूर्वक आरोहण गरेर प्रमाणपत्र पाइसक्नु भएको छ । आइल्यान्ड चुचुरो अमादब्लम र ल्होत्से हिमालको बीचमा पर्दछ ।

प्रायः आरोहीहरुले साथमा गाइड, भरिया, भान्से र लियाजो अफिसर लिएर जाने जाने गर्दछन् । तर, दाहाल एक्लै आरोहणमा जानु भएको थियो ।

आरोहणमा १८ लाख रुपैयाँ निजी खर्च भएको र उक्त रकम विगतमा ट्रेकिङ गाइडको काम गर्दा आर्जेको रकम रहेको उहाँले बताउनुभयो ।

आरोही जयराम दाहाल मेचीनगरकी पत्रकार रीता दाहालकी भाइ हुनुहुन्छ । जयराम पनि पत्रकारितामा रुचि राख्नुहुन्छ । उहाँ ट्राभल भ्लग र फेसबुक पेज चलाउनुहुन्छ ।

हिमाल आरोहणमा परिवारका सदस्य र शुभचिन्तकहरुको हौसला र सपोर्ट रहेको उहाँले बताउनुभयो ।

भविष्यमा विश्वका सात मुलुकमा रहेका उच्च हिमशिखरको आरोहण गर्ने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा आरोही दाहालले आफ्ना अनुभव सुनाउनु भएको हो ।