२० वैशाख २०८१, बिहिवार

आजदेखि बजार बितरकको लेबल नलगाइएको विदेशी सामान जफत गरिने

१ साउन २०८०, सोमवार
Image

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी ।

झापा, १ साउन । आयातित मालसामानमा आजदेखि आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको लेबल लगाउन अनिवार्य गरिएको छ ।

भन्सार विभागले आयातित मालसामानको लेबलको दुरुपयोग नहोस् भनेर साउन १ गतेदेखि नेपाल राज्यभर यो नियम लागू गरेको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।

यदि कुनै आयातकर्ता र बजार वितरकले नियम उल्लंघन गरी मालसामान विक्री वितरण गरेको पाइएमा अनुगमन निकायहरुले सामान तत्काल जफत गर्ने कानूनी व्यवस्था समेत रहेको उहाँले बताउनुभयो । भन्सार विभागले साउन १ गतेदेखि लागू हुने नियमको बारेमा सरोकारवाला सबैमा सूचना गरिसकेको बताइएको छ ।

विदेशी मालसामानको आयात गर्ने आयातकर्ता, बजार वितरक, उद्योग वाणिज्य संघ, स्थानीय तह, प्रशासन लगायत सरोकारवाला निकायहरुलाई वाणिज्य विभागको नयाँ व्यवस्थासम्बन्धी जानकारी यसअघि नै गराइसकेको उहाँले बताउनुभयो ।

नेपाल सरकारले आव २०८०÷०८१ को आर्थिक ऐन (बजेट)को भन्सारसम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा ४ मा साउन १ गतेपछि आयात हुने सम्पूर्ण तयारी मालवस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता मालवस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । 

आयातकर्ता एवम् बजार वितरकले लेबल लगाएर पठाएको मालसामानको अभिलेख व्यवस्थित गरी राख्नुपर्ने र लेबलमा बार कोड, क्युआर कोड, सुरक्षा स्टिकर लगायतका आफ्नो पहिचान राख्नसक्ने पनि रेग्मीले बताउनुभयो । आयातकर्ता र बजार वितरकले आफ्नो लेबल लगाउँदा नेपाली अथवा अंग्रेजी भाषा प्रयोग गर्नुपर्ने जनाएको छ ।  

आयातित मालसामान बिक्री वितरणका लागि बजार पठाउनुअघि गरिने प्याकिङमा आयातकर्ता र बजार वितरकले आफ्नो नाम, ठेगाना, इमेल ठेगाना, वेबसाइट र आयात निर्यात (एक्जिम) कोड अनिवार्य उल्लेख हुनुपर्ने व्यवस्थाले उपभोक्ता हितको संरक्षणमा मदत पुर्याउने प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो ।

आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूर्ण विवरणसहितको लेबल लगाइएको छ कि छैन भनेर बाणिज्य विभाग, गुणस्तर तथा नापतौल कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह लगायतले अनुगमन गर्नसक्ने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।