२० वैशाख २०८१, बिहिवार

बिजनेस

आठ अर्बको अलैची, साढे तीन अर्बको चिया निर्यात

३ साउन २०८०, बुधवार
Image

झापा, ३ साउन । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुहरु अलैंची, चिया, अदुवा र अम्रिसोको निर्यात बढेको मेची भन्सार कार्यालय झापाले जनाएको छ ।

कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार आर्थिक बर्ष २०७९/०८० मा रु. आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैची भारत निकासी भएको छ ।

आर्थिक बर्ष २०७८/०७९ मा सोही अवधिमा रु. चार अर्ब ७६ लाख ४३ हजार ८९ हजार मूल्य बराबरको ५२ लाख ८० हजार ४४३ केजी अलैची भारत निकासी भएको थियो । 

गत आवको तुलनामा आर्थिक बर्ष २०७९/०८० मा अलैचीको निर्यात ४२ प्रतिशतले वृद्धि भएको हो । अर्थात् तुलनात्मक रुपमा रु. तीन अर्ब ४७ करोड ७१ लाख २४ हजार मूल्य बराबरको अलैची निर्यात वृद्धि भएको छ ।

यसैगरी, गत आवको तुलनामा आर्थिक बर्ष २०७९/०८० मा तयारी चियाको निर्यात १६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०७९/०८० मा रु. तीन अर्ब ४२ करोड ६९ लाख ५२ हजार मूल्य बराबरको एक करोड ६० लाख ७८ हजार ६३ केजी चिया निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो । 

उहाँले अघिल्लो बर्षको तुलनामा रु. ५५ करोड २३ लाख ४२ हजार मूल्य बराबरको चिया निर्यात वृद्धि भएको बताउनुभयो । आव २०७८/०७९ मा रु. दुई अर्ब ८७ करोड ४६ लाख १० हजार मूल्य बराबरको एक करोड १७ लाख १३ हजार ६५९ केजी चिया निर्यात भएको थियो ।

अदुवा र अम्रिसोको निर्यात समेत बढेको छ । आर्थिक बर्ष २०७९/०८० मा रु. ६३ करोड ९२ लाख २९ हजार मूल्य बराबरको एक करोड ५५ लाख ४२ हजार ९३० केजी अदुवा निर्यात भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार अघिल्लो बर्षको तुलनामा रु. ३० करोड २३ लाख छ हजार मूल्य बराबरको अदुवा निर्यात वृद्धि भएको छ । आव २०७८/०७९ मा रु. ३३ करोड ६९ लाख २३ हजार मूल्य बराबरको एक करोड चार लाख ५८ हजार ७० केजी अदुवा निर्यात भएको थियो । अदुवाको निर्यात ४७ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, आर्थिक बर्ष २०७९/०८० मा रु. ८६ करोड ४३ लाख मूल्य बराबरको एक करोड १९ लाख ७३ हजार ९८० केजी अम्रिसो भारततर्फ निकासी भएको छ ।

प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार अघिल्लो बर्षको तुलनामा रु. २३ करोड ५३ लाख १९ हजार मूल्य बराबरको अम्रिसो निर्यात वृद्धि भएको छ । आव २०७८/०७९ मा रु. ६२ करोड ८९ लाख ८१ हजार मूल्य बराबरको एक करोड २४ लाख ४३ हजार २४५ केजी अदुवा निर्यात भएको थियो । अम्रिसोको निर्यात २७ प्रतिशतले वृद्धि भएको छ ।

प्लाइउड र छुर्पीको निर्यात उत्साहजनक

पूर्वीनाकाबाट निकासी हुने वस्तुहरुमा प्लाइउड र छुर्पीको योगदान उच्च रहेको छ । गत आवको तुलनामा आर्थिक बर्ष २०७९/०८० मा यी दुई वस्तुको निर्यात अत्यन्त उत्साहजनक रहेको छ ।

मेची भन्सार कार्यालयको तथ्याँंक अनुसार आर्थिक बर्ष २०७९/०८० मा रु. एक अर्ब ९९ करोड १० लाख ११ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको छ । जबकि आर्थिक बर्ष २०७८/०७९ मा रु. १० करोड ८० लाख ५७ हजार मूल्य बराबरको प्लाइउड निकासी भएको थियो ।

यसैगरी, आर्थिक बर्ष २०७९/०८० मा रु. एक अर्ब १० करोड ८१ लाख ११ हजार मूल्य बराबरको छुर्पी निकासी भएको छ । जबकि आर्थिक बर्ष २०७८/०७९ मा रु. आठ करोड ४३ लाख ३५ हजार मूल्य बराबरको छुर्पी निकासी भएको थियो ।

कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायतका विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको छ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा अलैंची, अदुवा, अम्रिसो, छुर्पी जस्ता कृषिजन्य बस्तुको उत्पादन हुने गरेको छ । पहाडी जिल्लामा कच्चा पदार्थ उत्पादन भए तापनि अलैची, अदुवा, अम्रिसो र प्लाइउडको प्रशोधन, भण्डारण र ब्रान्डिङ भने झापामा हुँदै आएको छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।