२४ वैशाख २०८१, सोमवार

विरोधमा उत्रिएका व्यापारीद्वारा नाकामा अवरोध प्रयास

९ साउन २०८०, मङ्गलवार
Image

नगरपालिका अगाडि साना व्यापारीको समूह । -फोटो : सेतोपत्र अनलाइन

झापा, ९ साउन । भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार शुल्क लाग्ने नयाँ नियमको विरोधमा आज काँकरभिट्टाका साना व्यापारीले नाकामा अवरोध प्रयास गरेका छन् ।

उक्त नियम नेपाल सरकारले केन्द्रमा बनाएको हो । यसको कार्यान्वयन यही साउन १ गतेदेखि देशैभरका भन्सार नाकाहरुमा भइरहेको छ ।

विरोधमा उत्रिएकाहरुको दावी अनुसार दैनिक भारतीय सीमावर्ती बजारमा गएर अलिकति सामान किनेर ल्याउने साना व्यापारी र सर्वसाधारणलाई यो नियमले मार परेको छ ।

काँकरभिट्टामा महिलाहरुको अधिक सहभागिता रहेको जुलुसले भन्सार कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै नाकामा यातायात अवरोधको प्रयास गरेको थियो ।

मेचीनगर होटल व्यवसायी संघले समेत भन्सारको नयाँ नियमको विरोध गरेको छ । प्रदर्शनमा होटल व्यवसायीहरुको समेत सहभागिता रहेको थियो ।

प्रदर्शनमा उत्रिएका साना व्यापारीहरुले सरकारको नयाँ नियम गरीवमारा भएको भन्दै चर्को नाराबाजी गरेका थिए । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भीडलाई हटाएर नाका खुलाएको थियो ।

यसैबीच, साना व्यापारीको समूहले आजै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीलाई भेटेर विरोध जनाएको छ । समूहले भन्सारको नयाँ नियम हटाउन माग गरेको थियो ।

उपप्रमुख उप्रेतीले यो नियम नगरपालिकाले नलगाएको भनेर समूहलाई सम्झाइबुझाई गरेकी थिइन् । उप्रेतीले यो नियम संघीय सरकारले नै लगाएको स्पष्ट पारेकी थिइन् ।