२६ वैशाख २०८१, बुधवार

पूर्वी नाकाबाट सवा चार करोडको जडिबुटी निर्यात

११ साउन २०८०, बिहिवार
Image

झापा, १० साउन  नेपालको पहाडी तथा हिमाली जिल्लामा पाइने १४ प्रकारका जडिबुटी भारतमा निकासी हुने गरेको छ । जडिबुटीको निकासीका कारण स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको छ भने भारतसँगको व्यापार घाटापूर्तिमा योगदान पुगेको छ ।

 

प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार पूर्वीनाका भएर बिगत एक वर्षमा रु=चार करोड ३० लाख छ हजार मूल्य बराबरको २९० मेट्रिक टन जडिबुटी भारत निकासी भएको छ ।

पूर्वीनाकाबाट भारततर्फ निकासी हुने मालसामानहरुमा जडिबुटी मुख्य बस्तु हो । यसबाहेक भेनियर काठ, मसाला बाली, औद्योगिक बाली लगायतका बस्तु निर्यात हुँदै आएको छ ।


कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/०८० मा काँकडभिट्टा नाका भएर निर्यात भएको सबैभन्दा बढी मूल्यको जडिबुटी चिराइतो हो । त्यसपछि क्रमश: मजिठो र पदमचाल धेरै निर्यात भएको छ ।


उहाँका अनुसार बिगत एक वर्षमा रु. दुई करोड ५४ लाख ४० हजार मूल्य बराबरको १२७ मेट्रिक टन चिराइतो, रु. एक करोड १३ लाख २३ हजार २०० मूल्य बराबरको ६७ मेट्रिक टन मजिठो र रु. १३ लाख ६५ हजार ३०० मूल्य बराबरको १२ मेट्रिक टन पदमचाल भारत निर्यात भएको छ ।


चिराइतो नेपालको एक हजार २०० देखि तीन हजार मिटर उचाईको पहाडी भूभागमा पाइने बहुऔषधीय गुणयुक्त जडिबुटी हो । ‘स्वरसिया चिराता’ बैज्ञानिक नाम भएको चिराइतो महँगोमा विक्री हुने जडिबुटी मानिन्छ । आयूर्वेदमा यसको औषधीय गुणको वर्णन गरिएको छ । औलोको ज्वरो, रगतमासी, महिनावारी गडबडी, कब्जियत, घाउ, खटिरा आदि रोगमा यसको सेवन औषधि हुने बताइएको छ ।


पूर्वी नेपालको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर लगायतका जिल्लामा यसको प्रचुर उत्पादन हुँदै आएको छ । मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, सल्यान, रोल्पा, डोल्पा, अछाम, डोटी, डँडेलधुरा, बाजुरा आदि जिल्लामा पनि प्राकृतिक रूपमै चिराइतो उम्रने गरेको पाइन्छ ।


शक्तिवर्धक औषधिको रुपमा मानिएको पदमचाल नेपालको उच्च हिमाली भेगमा पाइने जडिबुटी हो । दोलखा, गोरखा, लमजुङ, म्याग्दी, रुकुम, पर्वत, कालिकोट, दैलेख, जाजरकोट लगायतका जिल्लामा पर्याप्त मात्रामा पाइने यसको व्यावसायिक खेती समेत हुन थालेको छ । मजिठो पनि नेपालको पहाडी भेगमा पाइने जडिबुटीजन्य बनस्पति हो । प्यारालाइसिस, अल्जाइमर्स, छाला सम्बन्धी लगायतको रोगमा यसको प्रयोग हुने गरेको छ ।


पूर्वीनाका काँकडभिट्टाबाट आव २०७९/०८० मा रु. १५ लाख २१ हजार मूल्यको १३ मेट्रिक टन अमला, रु. ११ लाख २२ हजार मूल्य बराबरको २८ मेट्रिक टन चुत्रोको बोक्रा, रु. एक लाख ६६ हजार मूल्य बराबरको एक हजार १०० मेट्रिक टन कुरिलो, रु. आठ लाख ८५ हजार मूल्य बराबरको २५ मेट्रिक टन धुलो धुप, रु. ४० हजार मूल्य बराबरको नागबेली, रु. ११ हजार मूल्य बराबरको सिस्नोको जरा, रु. नौ लाख २४ हजार मूल्य बराबरको १४ मेट्रिक टन रिठ्ठा र रु. एक लाख ९५ हजार मूल्य बराबरको एक हजार ५०० मेट्रिक टन जटामसी भारत निर्यात भएको छ । 

 

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।