१५ वैशाख २०८१, शनिवार

समाचार फ्लोअप

करोडका सामान बोकेको कन्टेनर भन्सार नतिरी कसरी छिर्यो ?

१३ साउन २०८०, शनिवार
Image

काँकरभिट्टा, १३ साउन । भन्सार छलेको सवा करोडभन्दा बढी मूल्यको सामान प्रहरीले बरामद गरेपछि नाकाबाट कसरी पार भयो भन्ने प्रश्न उब्जिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले शुक्रवार साँझ साढे ७ बजेतिर भन्सार नाकाभन्दा करीव ५०० मिटर पश्चिम पुरानो भन्सार क्षेत्रबाट एक करोड २० लाखभन्दा बढी मूल्यको विभिन्न सामान बोकेको कन्टेनर नियन्त्रणमा लिएको थियो ।

ती सामानको कुनै बिलबिजक र कर तिरेको प्रमाण नभेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिनुभएको छ ।

शुक्रवार साँझ नियन्त्रणमा लिइएको ना२ख ४९०२ नम्बरको मालवाहक कन्टेनरलाई इलाका प्रहरी कार्यालयमा सुरक्षित राखिएको थियो । आज विहान सात बजेपछि मात्र कन्टेनर खोलेर सामान हेरिएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार कन्टेनरमा चालक थिएनन् । कन्टेनर शिलबन्दी थिएन । यसको अर्थ यो सामान अबैध रुपमा भित्राइएको भन्नेमा कुनै शंका रहेन । कसको सामान हो र कन्टेनर धनी को हो भन्ने प्रहरीले जानकारी दिएको छैन ।

कन्टेनरभित्र बौद्धमार्गीले बाद्यबादनको रुपमा प्रयोग गर्ने झ्याम्टा धेरै मात्रामा रहेको बताइएको छ भने साबुन, हुक्काको फ्लेवर लगायतका सामान पनि छन् ।

आवश्यक अनुसन्धानका लागि इटहरीको राजस्व अनुसन्धान कार्यालयलाई कन्टेनरसहित सामान बुझाइने बताइएको छ ।

एक सय रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउँदा भन्सार तिर्नुपर्ने नियम सरकारले लगाइरहेका बेला भन्सार छलेको करोडभन्दा बढीको एक कन्टेनर सामान बरामद भएपछि जनाक्रोश बढ्ने सम्भावना छ ।

सानालाई ऐन र ठूलालाई चयन भनेझैं साना व्यापारीको सामानका कर लगाउने र ठूला तस्करमा सामान भन्सार नतिरी छिराउने भन्दै सामाजिक सञ्जालमा विरोध जनाउने क्रम बढिरहेको पाइएको छ ।