१६ वैशाख २०८१, आइतवार

भन्सार फ्लोअप

कसको थियो सामान, को थियो भन्सार एजेन्ट ?

१३ साउन २०८०, शनिवार
Image

मेचीनगर, १३ साउन । मेची भन्सार कार्यालयले प्रहरीद्वारा पुरानो भन्सारबाट नियन्त्रणमा लिइएको ना२ख ४९०२ नम्बरको नेपाली कन्टेनर र त्यसभित्रका मालसामान सन्तोष खवास प्रोपाइटर रहेको स्वाभिमान सप्लायर्सको रहेको स्पष्ट पारेको छ ।

भन्सारले आज साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार स्वाभिमान सन्स एन्ड सप्लायर्स (एक्जिम कोड नं. ६०१२७१५४८०१५५ एनपी)ले भन्सारभित्रबाट उक्त कन्टेनरलाई काँकरभिट्टासम्म लैजाने अनुमति लिएको थियो ।

भन्सार एजेन्ट ढकेन्द्र कार्की (एजेन्ट नं. १०७८)ले शुक्रवार नै भरेको प्रज्ञापन पत्र (एम१००८५)बाट ती सामान नियम बमोजिम कर तिरेर आयात गरिएको भन्सारले जानकारी दिएको छ ।

भन्सारमा आयातकर्ताले एक लाख ५६ हजार ७९० रुपैयाँ राजस्व तिरेर भन्सार जाँचपास गरेको विज्ञप्तिमा जनाइएको छ । 

भन्सारका सूचना अधिकारी पूणर्प्रसाद लम्सालले उक्त विज्ञप्ति जारी गर्नुभएको हो । 

भन्सारबाट राजस्व तिरेर जाँचपास गरी भन्सार क्षेत्रबाट बाहिरिसकेको कन्टेनर (ट्रक) पक्राउ परेको हुँदा त्यसमा भन्सार जिम्मेवार नहुने र प्रहरीको अनुसन्धानबाटै अरु कुरा थाहा हुने भन्सारको भनाई छ ।

भन्सारले हाल कानूनको परिपालना गरी भन्सारमा चोरी पैठारीलाई निरुत्साहित गरिरहेको हुँदा त्यसबाट विचलित भएर गरिएका विभिन्न प्रोपोगन्डाबाट सचेत रहन र कानून कार्यान्वयनमा सहयोग पुर्याउन आम सञ्चारमाध्यम र सर्वसाधारणमा विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।