१५ वैशाख २०८१, शनिवार

सीमापार किनमेलमा कडाई गर्ने हो भने विकल्प दिनुपर्ने सुझाव

१५ साउन २०८०, सोमवार
Image

झापा, १५ साउन । खुला सीमापार घरायसी किनमेलमा कडाई गर्ने हो भने सीमावर्ती बासिन्दा र विपन्नको पहिचान गरेर दैनिक उपभोग्य बस्तुहरु सहुलियत मूल्यमा उपलब्ध गराइनु पर्ने आवाज उठेको छ ।

उपभोक्ता जागरण अभियान झापाले अबैध ओसारपसारलाई कडाइका साथ निरुत्साहित गर्न दुई सुझाव दिएको छ ।

अभियानले आइतवार जारी गरेको विज्ञप्तिका अनुसार पहिलो कुरा स्थानीय उपभोक्तालाई रोक्ने र ठूला परिमाणमा राजस्व छलेर सामान भित्राउने तस्करीजन्य गतिविधिलाई प्रोत्साहित गर्ने हो भने भन्सारमा एक सय रुपैयाँभन्दा बढी दामको सामान ल्याउँदा राजस्व तिर्नपर्ने नियमको कुनै औचित्य हुँदैन ।

यदि नियम लगाउने नै हो भने वर्षौदेखि खुला सीमा र बिना पासपोर्ट खुला आवतजावत गर्दै आएका सीमावर्ती बासिन्दालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने भरपर्दो व्यवस्था मिलाइनु पर्ने अभियानले स्थानीय सरकारसँग माग गरेको छ । 

राजस्व वृद्धिका हेतुले ल्याइएको नयाँ नियम राष्ट्रिय हितमा रहे तापनि सीमावर्ती बासिन्दालाई यसले असहज तुल्याएको अभियानको ठहर छ । 

अभियानका जिल्ला अध्यक्ष मोहन काजी र सचिव विशाल थापाले उक्त विज्ञप्ति जारी गर्नु भएको हो ।