२० वैशाख २०८१, बिहिवार

संग्रहालयलाई सहयोग माग्दै काठमाडौं पुग्यो झापाको नाट्य टोली

२ भदौ २०८०, शनिवार
Image

झापा, २ भदौ । पूर्वीय कला, संस्कृति र पहिचानको संरक्षणका लागि निर्माणधीन बहुजातीय संग्रहालय र नाट्य कला मन्दिर पूरा गर्ने लक्ष्य बोकेर झापाको ‘क्षितिज नाट्य प्रतिष्ठान’ सहयोगको याचना गर्दै संघीय राजधानी पुगेको छ ।

विर्तामोड नगरपालिका वडा नं. १ मा दाताबाट प्राप्त सात कठ्ठा पाँच धुर जग्गामा निर्माणाधीन नाट्य कला मन्दिर आर्थिक अभावले अलपत्र भएपछि संघीय सरकारसँग सहयोग माग्न काठमाडौं जानु परेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले बताउनुभयो ।

कोशी प्रदेशको विभिन्न जिल्लामा शाखा समेत सञ्चालन गरिरहेको प्रतिष्ठानमा आवद्ध करीव छ सय कलाकारहरु रंगकर्ममार्फत सामाजिक सेवाको क्षेत्रमा क्रियाशील छन् । 

आफ्नो कला बेचेर बाँच्नका लागि प्रदेशमै सुविधासम्पन्न नाट्यघर र बहुजातीय संग्रहालय सञ्चालन गर्ने प्रतिष्ठानको अभियान छ । बिगत चार वर्षदेखि यिनै दुई कामका लागि सहयोग जुटाउन प्रतिष्ठानले स्थानीय, प्रदेश र संघीय सरकारको ढोका ढक्ढक्याइरहेको छ ।

“हामीले सरकारसँग धेरै मागेकै छैनौं,” प्रतिष्ठानका अध्यक्ष कल्पितले राजधानीसम्म पुग्नुपर्ने कारण बताउँदै भन्नुभयो–“सबै जातजाति र भाषाभाषीको संस्कृति र पहिचान झल्काउने एउटा बहुजातीय संग्रहालय बनाउँछौं भनेका छौं । अनि अर्को चाहिँ, आफ्नो कला देखाउने ठाउँ नपाएर नाट्यकर्मीहरु दुःखी छन् । एउटा सुविधासम्पन्न नाट्यघर बनाउन सहयोग गरिदिनु पर्यो भनेका छौं ।”

२०५८ सालमा स्थापित प्रतिष्ठानले २०७५ असार ११ गतेदेखि व्यक्तिहरुसँग एक थान इँटा बराबरको रु. १५ सहयोग संकलन अभियान सञ्चालन गर्दै आएको छ । यही अभियानबाट विर्तामोडमा रु. दुई करोडको नाट्य कला मन्दिर निर्माण थालिएको र एक धुर जग्गा सहयोग अभियानबाट सात कठ्ठा पाँच धुर जग्गा प्राप्त भइसकेको अध्यक्ष कल्पितले जानकारी दिनुभयो ।

उहाँका अनुसार नाट्य कला मन्दिर आर्थिक अभावले अधुरै छ भने रु. २५ अर्बको लागत अनुमान गरिएको बहुसांस्कृतिक संग्रहालयको निर्माण अझै सपना जस्तै बनेको छ । संग्रहालय निर्माणपछि त्यहाँ बाह्य तथा आन्तरिक पर्यटकको ठूलो संख्या आकर्षित हुने उहाँको धारणा छ ।

नाट्य कला मन्दिर र संग्रहालय निर्माण परियोजना अलपत्र पर्ने सम्भावना बढेपछि झापाली कलाकारहरुको टोली नै लिएर अध्यक्ष कल्पित राजधानी काठमाडौं पुग्नु भएको हो । काठमाडौंमा एक साता रहँदा सिंहदरवारमा पसेर मन्त्रीहरुलाई आफ्नो माग सुनाउने उहाँहरुको चाहना पुरा भएको छैन ।

“वडामा गयो, नगरपालिकामा जानु भनेर पठाउँछन्,” गुनासो पोख्दै अध्यक्ष कल्पित भन्नुहुन्छ–“नगरमा गयो बजेट छैन, प्रदेशमा जानु भनेर सुझाव दिनुहुन्छ । प्रदेशमा जाँदा यहाँ त केही बजेटै हुँदैन, बरु संघीय सरकारमा पुग्नु भयो भने केही उपलब्धि होला भन्नुहुन्छ । संघीय सरकारमा पुग्नै सकिएन । आफ्नो दुःखेसो सुनाउनै पाएका छैनौं ।”