२६ वैशाख २०८१, बुधवार

अर्जुनधाराकी कमला मुर्मु इराकमा तीन वर्षदेखि “बन्धक”

३ भदौ २०८०, आइतवार
Image

झापा, ३ भदौ । अर्जुनधारा नगरपालिका वडा नं. ६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नु भएको छ ।

तीन वर्ष अघि २०७७ साल भदौ १० गते वैदेशिक रोजगारीको क्रममा ओमान लाने भनेर कमलालाई मानव तस्करहरुले इराक पुर्याएर बेचेको उनकी आमा लखी मुर्मुले बताउनुभयो ।

“ओमान लाने भनेर इराक पुर्याएछन्,” पीडितकी आमा लखीले कमलाको फोटो देखाउँदै भन्नुभयो–“छ महिनासम्म कुनै सम्पर्क हुन सकेन । त्यसपछि भ्वाइस म्यासेजमार्फत बेलोबेला एकोहोरो सम्पर्क हुँदा छोरीले मलाई बन्धक बनाइएको छ, उद्धार गर्नुपर्यो आमा मात्र भनिरहेकी छन् ।” 

तीन वर्षदेखि बन्धक अवस्थामा रहेको खुलासा भए पनि कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास हुन सकेको छैन । दोहोरो सम्पर्क हुन नसकेको कारण कमलालाई इराकको कुन सहरमा बन्धक बनाइएको हो भन्ने बारेमा प्रष्ट हुन सकेको छैन ।

कमलाकी आठ वर्षकी छोरी काजल मुर्मुको लालनपालन हजुरआमा लखी मुर्मुले नै गरिरहनु भएको छ । काजल स्थानीय ग्लोबल भिजन स्कुलमा कक्षा ५ मा अध्ययनरत् छिन् । भारतको गुजरातमा रहेका पतिले छाडेपछि कमला जीविकाका लागि वैदेशिक रोजगारीमा जान बाध्य भएकी हुन्् ।

इटहरी बाँसबारीका गोविन्द कट्टेल र विर्तामोड–१ का मदन खरेलले ओमानमा राम्रो रोजगारीमा लगाइदिने भन्दै कमलालाई इराक पुर्याएको परिवारको दावी छ ।

इराकमा बन्धक बनाउने गिरोहले कमलासहित दर्जनौं महिलालाई घरेलु श्रममा लगाउने र त्यसबाट आर्जित नगद खोस्ने गरेको कमलाले भ्वाइस म्यासेजमार्फत बताएकी छन् । 

“अर्काको घरमा मरुन्जेल काममा लगाउँछन् र कमाएको पैसा पनि खोसिदोरहेछ,” छोरीको भ्वाइस म्यासेजबाट आएको खबरलाई उद्धृत गर्दै पीडितकी आमा लखीले भन्नुभयो–“चाउचाउ र कहिलेकाहि रोटी आधापेट खान दिन्छन् । काममा जान आनाकानी गर्यो भने पिट्छन् । घरमा सम्पर्क गर्न समेत दिदैनन् ।”

बन्धक बनेकी कमलाले भ्वाइस म्यासेजमार्फत आफ्नो उद्धार नभए गिरोहले मार्ने त्रास रहेको बताउँदै आएको उनकी आमा लखीले बताउनभयो । कमलाले खान नदिने मात्र नभएर चिसो भुइँमा सुत्न बाध्य पारेको र चर्को श्रम शोषण गरिरहेको बताउने गरेकी छन् । 

“दिउँसो कामका बेला सम्पर्क हुने सम्भावना हुँदैन,” लखीले बन्धक बनेकी छोरीको त्रासदीपूर्ण अवस्था सुनाउँदै भन्नुभयो–“गिरोहका मान्छेहरु सुतेको मौका छोपेर घरको चार तलामाथि लुकेर मोवाइलबाट सानो स्वरमा भ्वाइस म्यासेज पठाएको भन्छिन् । यो थाहा पाए भने मार्छन् भन्ने डर छ ।” गिरोहले गाडीमा ओसारेर विभिन्न घर र कम्पनीमा लगेर काम लगाउने र ल्याउने गर्दै आएको कमलाकी आमा लखीले बताउनुभयो । बाहिरी संसारमा कसैसँग सम्पर्क गर्ने सम्भावना नभएको समेत उहाँले बताउनुभयो ।

पीडित परिवारका तर्फबाट इलाका प्रहरी कार्यालय, वडा कार्यालय, नगरपालिका र माइती नेपाल लगायतका उद्धार संस्थाहरुमा घटनाको जानकारी गराइसकेको धेरै समय बितेको छ । ती निकायहरुले समेत उद्धारका लागि चासो नदेखाएको परिवारको गुनासो छ । 

गत वर्ष परिवारले नै एजेन्टहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा ल्याएर छलफल चलाएको थियो । त्यसबेला इटहरीका गोविन्द कट्टेल स्वदेश फर्काउने प्रतिबद्धता जनाएर फुत्किएका थिए । अहिले कट्टेल र खरेल दुबै सम्पर्कमा आउन चाहेका छैनन् ।

समुन्नत नेपालकी अध्यक्ष कोपिला बस्नेतले कमलाको शीघ्र उद्धारका लागि कतैबाट पहल नभएपछि पीडितकी आमा लखी आफ्नो सम्पर्कमा आउनु भएको बताउनुभयो । “गरीव र आदिबासी समुदायको व्यक्ति भएकाले कसैले आफ्नो कुरा नसुनेको उहाँको गुनासो थियो,” अधिवक्ता समेत रहनु भएकी बस्नेतले भन्नुभयो–“कमला मुर्मु बिरानो मुलुकमा बन्धक अवस्थामा हुनुहुन्छ । सरकारी र प्रशासनिक क्षेत्रबाट उहाँलाई छिटो उद्धारको प्रयास गर्न आग्रह गर्दछु ।” 

मुर्मु परिवारको छिमेकी संगीता प्रसाई बंशलले उद्धारका लागि अनुरोध गरेर प्रहरी, प्रशासन र नेताहरुसमक्ष धेरै धाइसक्दा कुनै परिणाम नआएको दुःखेसो पोख्नुभयो । “संघीय संसद्की उपसभामुख इन्दिरा राना र कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको गृहनगर समेत यही अर्जुनधारा हो,” बंशलले भन्नुभयो–“अब उहाँहरुसँग मात्र भेट्न बाँकी छ ।”

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।