२७ वैशाख २०८१, बिहिवार

कविता

फेरिएको मालिक

१० भदौ २०८०, आइतवार
Image

मालिकले अह्राउँछ
म खुरु खुरु र लुरु लुरु
झण्डा बोक्छु !

ओहो !
स्वतन्त्रता
खोज्न हिँडेको म
आस्था र विचारका नाममा
झण्डाको दास भएर
फेरिएको नयाँ मालिकको
दास बनेको छु
मालिक फेरिएको छ
म भने
पुनः दास नै बनेको छु !

कि
एउटा मालिक नबनाई
मेरो देशको मान्छे
बाँच्नै सक्तैन ?
आफैं मालिक बन्नु पर्ने ठाउँमा !·  

जुलुस
अर्काको विरुद्ध निकाल्दा निकाल्दै
झण्डा अर्काको विरुद्ध
देखाउँदा देखाउँदै
अन्ततः हामी
आफ्नै विरुद्धमा भएछौं
हामी फेरि अर्कै झण्डा बोकेर
नयाँ मालिकको दास भएछौं !

लेखकको बारेमा
Image
राजेश ढुंगाना

'सुकिला मान्छेको सामूहिक मृत्यु' कविता संग्रहका रचनाकार राजेश ढुंगाना प्रसिद्ध पत्रकार पनि हुनुहन्छ ।