१६ वैशाख २०८१, आइतवार

विर्तामोडको विषादी जाँच्ने प्रयोगशाला सञ्चालनमा आउने

१३ भदौ २०८०, बुधवार
Image

झापा, १३ भदौ । सरकारले विर्तामोड कृषिथोकमा बन्द रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाई (प्रयोगशाला) सञ्चालनमा ल्याउने भएको छ ।

उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्ण भण्डारी मार्सेलीको नेतृत्वमा अभियानको प्रतिनिधिमण्डलले मंगलवार कृषि तथा पशुपंछी मन्त्री डा. बेदुराम भुसाललाई भेटेर माग पत्र बुझाएपछि मन्त्री भुसालले बन्द रहेका प्रयोगशालाहरु खुलाउने बताउनु भएको हो ।

उपभोक्ता जागरण अभियान नेपालले विषादी जाँच्ने प्रयोगशला बन्द हुँदा आम उपभोक्ताले स्वस्थकर तरकारी तथा फलफूल उपभोग गर्न पाउने हक हनन भएको र जनस्वास्थ्यमा गम्भीर हानी नोक्सानी हुने जोखिम बढेको विषयमा मन्त्री भुसालको ध्यानाकर्षण गराएको छ ।

‘जागरण अभियानको प्रतिनिधिमण्डललाई माननीय मन्त्रीज्यूले विर्तामोडसहित मुलुकका ११ स्थानमा रहेको सबै प्रयोगशालालाई तत्काल खुलाउने विषयमा आश्वस्त बनाउनुभएको छ,’ अभियानका केन्द्रीय अध्यक्ष मार्सेलीले मन्त्रीलाई माग पत्र बुझाउँदाको जानकारी दिदै भन्नुभयो–‘तरकारी, फलफूल र खाद्यान्नमा रहने विषादीको अवशेष परीक्षण गर्ने प्रयोगशलालाई आवश्यक बजेट छुट्याइएको समेत उहाँले बताउनुभयो ।’

अभियानले स्वास्थ्य बिमा, अस्पतालको पार्किङ, शिक्षा क्षेत्रका विकृति, स्वच्छ बजारका चुनौति र बजार अनुगमन तीब्र बनाउने बारेमा सरकारको ध्यानाकर्षण गरेको छ ।

अध्यक्ष भण्डारी नेतृत्वको टोलीले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण संसदीय समितिका नवनिर्वाचित सभापति अब्दुल खानलाई भेटी विषादी जाँच्ने प्रयोगशाला बन्द भएको र बजारमा अनुगमन नभइरहेको विषयमा ध्यानाकर्षण गराएको छ ।

सो अवसरमा सभापति खानले ध्यानाकर्षण पत्रमा समेटिएका विषयवस्तुका आधारमा सरोकारवाला सबैलाई बोलाएर छलफल चलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

झापाको उपभोक्ता जागरण अभियानले विर्तामोडको कृषिथोक बजारमा रहेको प्रयोगशाला साउन १२ गतेदेखि बन्द रहेको तथ्य फेला पारेपछि त्यसको अबिलम्ब सञ्चालनका लागि स्थानीय तहको सरकारदेखि संघीय सरकार समेतको ध्यानाकर्षण गराएको थियो । झापा जिल्ला प्रशासन कार्यालय, विर्तामोड नगरपालिका, कृषिथोक बजार व्यवस्थापन समिति लगायतमा अभियानले ज्ञापन पत्र समेत बुझाएको थियो ।