२५ वैशाख २०८१, मङ्गलवार

गौरादहमा वडा कार्यालयको सहयोगमा रायो सागको खेती

१४ भदौ २०८०, बिहिवार
Image

झापा, १४ भदौ ः गौरादह नगरपालिका–१ का ३० जना किसानले रायो सागबाट यतिबेला राम्रो आम्दानी गरिरहेका छन् । 

उनीहरुले टनेलमा उत्पादन गरेको अग्र्यानिक बेमौसमी रायोको साग स्थानीय बजारमै खपत हुने गरेको छ । किसानहरुलाई रायो साग खेतीका लागि वडा नम्बर– १ ले साझेदारीमा टनेल निर्माणका लागि गत बर्ष रु. एक लाख १६ हजार अनुदानमा उपलब्ध गराएको थियो । 

स्थानीय शम्भू थापाले डेढ कठ्ठा जमिनमा तीन वटा टनेल निर्माण गरेर रायो सागको व्यावसायिक खेती गरिरहेको बताउनुभयो । “थोरै लगानी, कम मिहिनेतमा धेरै आम्दानी हुन्छ । बजारको पनि समस्या छैन”, उहाँ भन्नुहुन्छ, “धान लगायो भने आम्दानी लिन छ महिना पर्खनुपर्छ । सागले लगाएको डेढ महिनामै आम्दानी दिन सुरु गर्छ ।”

विगत तीन बर्षदेखि उहाँले टमाटर, धनियाँसँगै रायो सागको खेती गर्दै आएको बताउनुभयो । उहाँले व्यापारीले बारीबाटै प्रतिमुठा रु. ५० देखि ६० ले लैजाने गरेको बताउनुभयो । उहाँले प्रतिटनेल साग विक्रीबाट रु. १० हजार बढी आम्दानी हुने बताउनुभयो ।

वडाध्यक्ष नगेन्द्र भण्डारीले वडाको सहयोगमा ४० जना किसानले टनेल निर्माण गरेको बताउनुभयो । उहाँले ३० जना किसानले रायो साग र १० जनाले तोरीको सागको खेती लगाएको जानकारी दिनुभयो । “यो सागको सिजन होइन”, उहाँले भन्नुभयो, “धेरैले उत्पादन गरेका छैनन् । त्यही भएर महंगोमा विक्री हुँदा किसानले राम्रो आम्दानी गरेका छन् ।”

वडाध्यक्ष भण्डारीले कुमार अधिकारी, राजकुमार राई, टीका अधिकारी, राजन भण्डारीलगायतका ३० जना किसानले बर्षभरि नै अन्य तरकारीसँगै रायो सागको व्यावसायिक खेती गर्दै आएको बताउनुभयो । उहाँले यहाँ किसानले रायो सागको खेती बाह्रैमास गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको बताउनुभयो ।

जिल्लामा रायो सागको बेमौसमी खेती बुद्धशान्ति गाउँपालिका, विर्तामोड नगरपालिका, मेचीनगर नगरपालिकाको बाहुनडाँगीलगायतका क्षेत्रका कृषि ज्ञान केन्द्रको सहयोगमा किसानहरुले विगत बर्षदेखि नै गर्दै आउनुभएको छ ।