२६ वैशाख २०८१, बुधवार

मेचीनगरकी १२० वर्षीया पोहानी ‘नेपालकै ज्येष्ठ नागरिक’

२५ भदौ २०८०, सोमवार
Image

मेचीनगर, २५ भदौ । मेचीनगर वडा नं. ७ मदनबस्तीकी पोहानी राजबंशी मुलुककै ज्येष्ठ नागरिक हुनसक्ने देखिएको छ ।

उहाँ १२० वर्षको हुनुभएको उहाँका छोरा फतलाल राजबंशीले बताउनुभयो ।

नेपालको ज्येष्ठ व्यक्ति सप्तरी जिल्लाको तिरहुन गाउँपालिका वडा नं. १ निवासी १३१ वर्षीय रखु बहरखेरलाई मानिदै आएको थियो । उहाँको २०७५ चैत ३० गते निधन भएको छ । त्यसपछि नेपालकै ज्येष्ठ व्यक्तिका लागि कसैको दावी आएको छैन ।

परिवारका सदस्यको दावीलाई आधार मान्ने हो भने पोहानी राजबंशी अब नेपालकै ज्येष्ठ नागरिक बन्न सक्ने देखिएको हो ।

सप्तरीका रखु बहरखेरभन्दा अघि सुनसरीको खनारका १२० वर्षीय वीरनारायण माझीलाई नेपालकै जेठो व्यक्ति मानिन्थ्यो । उहाँको पनि निधन भइसकेको छ । 

पोहानीका पाँच छोरा र तीन छोरीमध्ये हाल तीन छोरा र एक छोरी जीवित छन् ।

राजबंशी भाषा मात्र बोल्ने पोहानी जेठो छोरासँग सानो झुपडीमा बस्नुहुन्छ । भुइँमै उहाँको सुत्ने ओछ्यान छ । सुत्ने कोठाबाट बाहिर आँगन र नजिकैको सडकसम्म उहाँ विस्तारै हिँडडुल गर्न सक्नुहुन्छ ।

थोरै खाना खाने र बिडीको अम्मली उहाँ कान कम सुन्नुहुन्छ । तर, आँखाको शक्ति भने तेज नै रहेको छ ।

उहाँ १२० वर्ष पुग्नु भएको परिवारले दावी गरे तापनि नागरिकता प्रमाणपत्रका अनुसार उहाँको उमेर ८२ वर्ष मात्र हुन्छ । नागरिकता बनाउनेले कम उमेर लेखिदिएका कारण त्यस्तो भएको उहाँको छोरा फतलाल बताउनुहुन्छ ।

‘चालीस बर्ष अघि आमाको नागरिकता बनाएको हो,’ छोरा फतलालले भन्नुभयो–‘त्यसअघि नागरिकता बनाउने चलनै थिएन । नागरिकता बनाउनेले आफुखुशी उमेर घटाएर हालिदिएको हो । हाम्री आमा १२० वर्ष पुगिसक्नु भयो ।’

नागरिकता बनाउँदा गल्ती भएको छोरा फतलालको भनाई छ । नागरिकता अनुसार छोरा फतलालको उमेर ८४ वर्ष देखिन्छ । आमाको उमेर ८२ र छोराको उमेर ८४ त हुन सक्दैन ।

नागरिकतामा पोहानीको जन्ममिति उल्लेख छैन । २०४० फागुन १४ गते झापा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको उहाँको नागरिकतामा ४२ वर्ष उमेर उल्लेख छ ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।