२४ वैशाख २०८१, सोमवार

तुलसी र शिवशिखर सहकारी समस्याग्रस्त घोषित

२६ भदौ २०८०, मङ्गलवार
Image

झापा, २६ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । 

मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो । 

‘सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यता विपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा ९१० को व्यवस्थाअनुसार सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

समस्याग्रस्त घोषणा भएका यी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी अब समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गर्नेछ ।

यी सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै विभागमा उजुरी परेको थियो । त्यस्ता उजुरीमाथि विभागले छानबिन गरेपछि समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । सहकारी विभागको सिफारिसका आधारमा मन्त्रालयले सोमबार यस्तो निर्णय गरेको हो ।

यीसँगै समस्याग्रस्त घोषणा भएका सहकारीको संख्या १५ वटा पुगेको छ । यसअघि मन्त्रालयले विभिन्न मितिमा १३ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ ।

बागमतीमा नयाँ सहकारी दर्ता नहुने

बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताउनुभएको छ । 

उहाँले जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको ४२ औँ वार्षिक साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्रका जिल्लास्थित सरोकारवाला निकायलाई कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नगर्न आदेशसमेत दिइसकेको बताउनुभयो । 

‘सहकारीका विषयमा विभिन्न टीकाटिप्पणी र विभिन्न सहकारी समस्याग्रस्त भएकोबारे मन्त्रलायमा निवेदन आइरहेका छन्, परिस्थिति सवल नभएसम्म नयाँ सहकारी दर्ता नगर्न आदेश दिएका छौँ, नयाँ दर्ता भएका पनि छैनन्’, मन्त्री महर्जनले भन्नुभयो । 

उहाँले समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने चेतावनीसेमत दिनुभयो । उहाँले भन्नुभयो, ‘सही बाटोमा हिँडेका सहकारीलाई संरक्षण पनि गर्छौं, गलत गरेको पाइए कडा कारबाही गर्छौं, कसैलाई छुट दिँदैनौँ ।’