२० वैशाख २०८१, बिहिवार

त्रिफलाद्वारा छन्दकवि कट्टेललाई ‘मोति प्रतिभा सम्मान’

२८ भदौ २०८०, बिहिवार
Image

मेचीनगर, २८ भदौ । त्रिफला राष्ट्रिय पुस्तकालयले छन्द कवि हरि कट्टेललाई यसवर्षको मोति प्रतिभा सम्मान प्रदान गरेको छ ।

पुस्तकालयको रजत महोत्सव समापन एवम् १५८ औं मोती जयन्तीका अवसरमा आज आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

भारतीय वरिष्ठ साहित्यकार ज्ञानबहादुर क्षेत्री, वरिष्ठ साहित्यकार प्राडा गोविन्द भट्टराई र पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीले छन्द कवि कट्टेललाई दोसल्ला ओढाएर नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।

यसैगरी, यसवर्षको छत्रबहादुर बस्नेत समाजसेवा सम्मानबाट मेचीनगर–१० की धनकुमारी न्यौपाने सम्मानित हुनुभएको छ ।

भारतीय वरिष्ठ साहित्यकार ज्ञानबहादुर क्षेत्री, वरिष्ठ साहित्यकार प्राडा गोविन्द भट्टराई, पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी र पुरस्कार अक्षयकोषका दाता स्व. छत्रबहादुर बस्नेतका नाति मात्रिका बस्नेतले उक्त सम्मान प्रदान गर्नुभएको थियो ।

दुबै पुरस्कारका लागि काँकरभिट्टा निवासी स्व. छत्रबहादुर बस्नेतले अक्षयकोष स्थापना गरिदिनु भएको थियो ।

पुस्तकालयका अध्यक्ष फलाहारीको अध्यक्षता, महासचिव टीका सुबेदीको उद्घोषण र नेपाल तथा भारतका दर्जनौं अगुवा साहित्यकारहरुको उपस्थितिमा भएको सो कार्यक्रममा पुस्तकालयको मुखपत्र ‘त्रिफला दर्पण’, हिरण्यप्रसाद भट्टराईद्वारा लिखित ‘महाभूकम्प र कोरोना’, टिकाराम अर्यालको कविता संग्रह ‘मञ्जरी’, विष्णु ओलीको ‘सृष्टिभित्रको दृष्टि’, टिकाराम घानाको ‘युद्धको संग्राममा उभिएकी शिशु’, उदयनारायण तिम्सिनाको ‘मेरो जीवन रंगमञ्च’, विमला जोशीको ‘ऐनाभित्रको जिन्दगी’, राजेन्द्र पासाको ‘तरंगित छालहरु’को विमोचन गरिएको थियो ।

पुस्तकालय स्थापनामा महत्वपूर्ण योगदान पुर्याउनु भएका साहित्यकार प्राडा गोविन्द भट्टराई, झापाका पूर्व प्रजिअ टिकाराम अर्याल, झापाका पूर्व जिशिअ उद्धव बिष्ट लगायतलाई त्रिफला राष्ट्रिय पुस्तकालयका तर्फबाट संरक्षक विभूषण प्रदान गरिएको छ ।

कार्यक्रममा कोशी प्रदेशका शिक्षा विकास निर्देशक कृष्णप्रसाद पोखरेल, साहित्यकार केशव आचार्य, मीरा पोखरेल, टिका ढुंगेल, परशुराम तिम्सिना लगायतका विशिष्ट अतिथिहरुको वजनदार उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा पुस्तकालयका अध्यक्ष फलाहारीले त्रिफला सामुदायिक भवन निर्माणको प्रस्ताव गर्दै दाताहरुसँग सहयोगको याचना गर्नु भएको थियो ।