२० वैशाख २०८१, बिहिवार

भारतीय अवरोधका कारण पूर्वीनाकाबाट पर्यटक आगमन ठप्प

१ असोज २०८०, सोमवार
Image

झापा, १ असोज । भारतीय अध्यागमनको नीतिगत अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ ।

कोभिड १९ (कोरोना)को महामारी फैलिएपछि वि.संं. २०७६ चैत्र ११ गतेदेखि काँकडभिट्टा लगायत देशभरका नाका बन्द गरिएका थिए । कोरोना महामारी समाप्त भएपछि पनि भारतले काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीटंकीको अध्यागमन कार्यालयले पर्यटकलाई नेपाल जाने अनुमति दिएको छैन ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार भारतको पश्चिम बंगाल राज्यको अध्यागमन चेकपोस्ट रानीगञ्जले सीमावर्ती पानीटंकी नाकाबाट भूटानी, नेपाली विद्यार्थी र प्रवासी भारतीय नागरिक प्रमाणपत्र (ओसीआई) भएका पर्यटकलाई मात्र नेपाल जाने प्रवेशाज्ञा दिने गरेको छ ।

“बंगलादेशमा पढ्न जाने नेपाली विद्यार्थी, भूटानी नागरिक र ओसीआई कार्ड होल्डरलाई मात्र नेपाल आउन दिने भारतीय अध्यागमनको नीतिका कारण काँकडभिट्टाबाट पर्यटक आगमन ठप्प भएको हो,” प्रमुख भन्सार अधिकृत रेग्मीले भन्नुहुन्छ–“बिगतमा ठूलो संख्यामा तेस्रो मुलुकबाट पर्यटक यही नाका भएर भित्रिने गर्दथे । अहिले चलहलपहल ठप्पप्राय छ ।”

भारतले प्रवेशाज्ञा नदिएका कारण बंगलादेश र अन्य तेस्रो मुलुकका पर्यटक काठमाडौं हुँदै पूर्वी नेपाल घुम्न आउने गरेका छन् । नेपाली पक्षले पूर्वीनाकाबाट पर्यटक भित्रिन भइरहेको अवरोध हटाउन उच्चस्तरीय पहल गर्न आवश्यक रहेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ ।

पूर्वीनाका भएर नेपाल घुम्न आउने तेस्रोमुलुक तथा बंगलादेशी पर्यटकहरुको आवतजावत ठप्प हुँदा कोशी प्रदेशको पर्यटनक्षेत्रमा ठूलो क्षति पुगेको उहाँको भनाई छ । अध्यगमन कार्यालय काँकरभिट्टाका अनुसार कोभिड सुरु हुन अघि यो नाका भएर सवैभन्दा बढी बंगलादेशी पर्यटक आउने गरेका थिए । 

अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख रेवन्त भट्टराईले सन् २०२३ को जनवरी १ देखि हालसम्मा पूर्वी नाका भएर २१ वटा देशका पाँच हजार १९७ जना पर्यटक नेपाल प्रवेश गरेका छन् । जसमध्ये तीन हजार चार सय १४ पुरुष र १ हजार ७ सय ८३ महिला रहेका छन् । 

भुटानबाट एक हजार ७२९ जना, अष्ट्रेलियाबाट १२, बंगलादेशबाट १२, क्यानडाबाट ७ चीनबाट दुई, फिनल्याण्डबाट तीन, नेदरल्याण्डबाट तीन, फिलिपिन्स, रसिया, सिंगापुर र थाईल्याण्डबाट एक ÷एक, दक्षिण कोरीयाबाट तीन, युकेबाट ११ जना, युएसएबाट २६ जना यो अवधिमा नेपाल घुम्न आएका छन् ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।