२० वैशाख २०८१, बिहिवार

हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागती खेती

१ असोज २०८०, सोमवार
Image

झापा, १ असोज । दैनिक हुल बाँधेर आउने जंगली हात्तीले धानबाली नष्ट गर्न थालेपछि मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका छन् । 

कम लगानी, बढी आम्दानी र हात्तीले नष्ट गर्न नसक्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित हुने गरेका हुन् । बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन विगाह क्षेत्रफलमा धान खेती मासेर व्यावसायिक रुपमा कागती खेती गर्नेको संख्या दिनानुदिन बढिरहेको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । 

उहाँका अनुसार वडा नम्बर ४ मा व्यवसायिक रुपमा कागती खेती गर्ने किसान २५ बढी रहेका छन् । उहाँले विगत चार बर्ष अघि कागती खेतीलाई व्यावसायीकरण गर्ने उद्देश्यले इच्छुक किसानलाई निःशुल्क विरुवा नै वितरण गरेर अभियान सुरु गरेको बताउनुभयो । 

कागतीको बोटमा हुने काँडाका कारण हात्तीले नष्ट गर्न नसक्ने र जैविक बेराको रुपमा काम गर्नुका साथै आम्दानी राम्रो हुने देखेर अभियान सुरु गरेको अध्यक्ष कार्कीको भनाई छ । “आठ बर्ष अघि विश्व बैंकको लगानीमा हात्ती रोक्ने विद्युतीय घेराबारा १२ किलोमिटर गर्ने र १२ किलोमिटर कागती रोपेर जैविक फेन्सिङ गर्ने भन्ने योजना थियो”, उहाँले भन्नुभयो, “तर बैंकलाई कागती रोप्न भन्दा ढुंगामुढा लगाउन सस्तो भएपछि काम भएन ।” उहाँले हात्ती रोक्नका लागि विद्युतीय फेसिन्ङभन्दा प्रभावकारी कागतीका बोट नै हुने दाबी गर्नुभयो । 

वडा नम्बर ४ मगरडाँडाका सन्तोष अधिकारीले कागती बेचेर बार्षिक रु. २५ लाख आम्दानी गरेको बताउनुभयो । उहाँले धान खेतीबाट भन्दा कागती खेतीबाट प्रति विगाह रु. पाँच लाख बढी नाफा हुने बताउनुभयो । उहाँले विगत चार बर्ष अघि दुई विगाह जमिनमा धान खेती मासेर कागतीको व्यावसायिक खेती सुरु गर्नुभएको छ । 

विरुवा लगाएको तीन बर्षदेखि कागतीले आम्दानी दिन सुरु गरेको उहाँले बताउनुभयो । उहाँले बाहै्र महिना फल्ने सुनकागतीको खेती गर्नुभएको छ । कागती किन्नका लागि विर्तामोड, धुलाबारी, काँकरभिट्टाका व्यापारीहरु घरमै आउने गरेको अधिकारीले बताउनुभयो । बगानमै प्रतिकेजी रु. ७५ले कागती विक्री हुँदै आएको उहाँले जानकारी दिनुभयो । 

“हात्तीले धान, मकै लगायो खेतबाट घर भित्र्याउनै दिएन”, उहाँले भन्नुभयो, “बैकिल्पक खेतीका रुपमा लगाएको हात्ती पनि आएन आम्दानी पो गज्जब भयो ।” उहाँले हाल स्थानीय छ जनाले दैनिक रोजगारी पाइरहेको बताउनुभयो । उहाँले राम्रोसँग गोडमेल, समयमै मल, पानी गरेर स्याहर्न सकेमा प्रतिबोटमा छ हजार दानासम्म फलेको उहाँले सुनाउनुभयो । 

अधिकारीले हात्तीले दिएको हैरानीबाट मुक्ति पाउन मात्र कागतीको खेती सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नाफा हुन्छ भनेर हिसाब गरेर लगाएको होइन । गर्दा गर्दै राम्रो आम्दानी र नाफा भयो, हात्ती पनि आएन ।”


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।