१६ वैशाख २०८१, आइतवार

थोप्लेविरान महिला कृषि सहकारीको शेयर पूँजी रु. २५ लाख

४ असोज २०८०, बिहिवार
Image

धुलाबारी, ४ असोज । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको नवौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । 

थोप्लेविरान सामुदायिक वनको सभाहलमा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यतामा विहीबार साधारणसभा भएको हो । उहाँले नगरमा आन्तरिक आय स्रोत कम भएका कारण विगतमा जस्तो कृषि क्षेत्रका सहकारी तथा संघसंस्थालाई पर्याप्त बजेट विनियोजन नगर्न नसकेको बताउनुभयो । 


नगरले तोरी मौरी कार्यक्रममार्फत इच्छुक कृषि सहकारी तथा संघसंस्थालाई प्रोत्साहनका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखाकी प्रमुख मुना घिमिरेले सहकारीका शेयर सदस्यहरुलाई नियमति कारोवार गर्न आग्रह गर्नुभयो । उहाँले शेयर सदस्यले समस्यामा विना धितो ऋण दिने सहकारीको कर्जा नियमिति तिर्न सक्यो भने सहकारी सञ्चालनमा सहज हुने धारणा व्यक्त गर्नुभयो । 

राष्ट्रिय समाचार समितिकी समाचारदाता अम्बिका भण्डारीले कृषि सहकारीहरुले बचत र ऋणको मात्र कारोवार नगर्न आग्रह गर्नुभयो । उहाँले सहकारीमा आवद्ध सदस्यहरुले सामूहिक रुपमा कृषिजन्य उत्पादनमा जोड दिन सके शेयर सदस्य पनि स्वरोजगार बन्ने र सहकारीको उद्देश्य पनि पूरा हुने बताउनुभयो । 

सहकारीकी संस्थापक अध्यक्ष मञ्जु कट्टले विपन्न महिलाहरुलाई लक्षित गरेर सहकारीको स्थापना गरेको बताउनुभयो । उहाँले सहकारीले विपन्न शेयर सदस्यको आर्थिकस्तर उकास्न प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्दै आएको बताउनुभयो । 

यस सहकारीका सल्लाहकार प्रकाश भण्डारीले आफू रहेकै सहकारीमा नगद जम्मा गर्न समेत शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । उहाँले ऋण एक सहकारीमा लिने र नगद जम्मा अर्को सहकारीमा गर्ने कार्यका अन्त्य गर्न सबै शेयर सदस्यलाई अनुरोध गर्नुभयो । 

वि.सं. २०७१ सालमा मासिक रु. १५ जम्मा गरेर एक व्यक्ति बराबर रु. तीन हजार भएपछि शेयर पूँजीमा परिणत गरेर रु. दुई लाख ३२ हजार पाँच सय शेयर पूँजीबाट स्थापना गरेको सहकारीको हालको शेयर पूँजी रु २५ लाख ८३ हजार आठ सय पुगेको संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठले बताउनुभयो । 

उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा सहकारीले रु. एक करोड ६४ लाख २४ हजार ५५८ भन्दा बढी निक्षेप संकलन गरेर रु. दुई करोड चार लाख ५४ हजार ४२२को हाराहारीमा कर्जा लगानी गरेको उल्लेख छ । सहकारीले आर्थिक बर्ष २०७९÷ ०८० मा रु तीन लाख ५० हजार मुनाफा गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

संस्थाले शेयर सदस्यहरुलाई कृषिजन्य व्यवसाय गर्नका लागि कार्य समिति सदस्यको धनीपूर्जा धितो राखि राष्ट्रिय सहकारी बैंकबाट रु ४३ लाख ऋण लिएर लगानी समेत गरेको छ । हाल थोप्लेविरान सामुदायिक वनको उपभोक्ता मात्र शेयर सदस्य रहेको सहकारीले वडा नम्बर ९ भरिका जनताले शेयर सदस्य बन्न पाउने व्यवस्था गरेको उहाँको भनाई छ । 

संस्थाकी व्यवस्थापक पवित्रा आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जानुका ओलीले राख्नुभएको थियो ।