१६ वैशाख २०८१, आइतवार

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

६ असोज २०८०, शनिवार
Image

झापा, ६ असोज ।  घरका आँगन वरिपरी, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यवसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ । 

जसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानी समेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताउनुभयो । विगत १० बर्षदेखि नर्सरी व्यवसायमा लाग्नु भएका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाउनु भएको छ ।

उहाँले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्र्दै आउनुभएको छ । जसमध्ये मेचीनगरमा लगाइएको फुल ढकमक्क फुलेर धमाधम विक्री भइरहेको छ । 

उहाँको बारीमा फुलेको सयपत्री फूल खरिदका लागि विर्तामोड, धुलाबारी र काँकरभिट्टाका संघसंस्थाहरु धेरै आउने गरेका छन् । बाह्रै महिना सयपत्री फूलको उपलब्धता हुने भएपछि जिल्लामा हुने अधिकांश सभा समारोहमा त्यही प्रयोग हुन थालेको उहाँले बताउनुभयो । उहाँले अग्रिम फूलका अर्डर गर्ने संस्थासंस्थाहरुको कार्यक्रम स्थलमै माला पुर्याउने व्यवस्था समेत मिलाइएको जानकारी दिनुभयो ।

“सयपत्री फूल फुल्न सिजन चाहिँदैन”, उहाँले भन्नुभयो, “गर्दा बाह्रैमास हुन्छ । व्यावसायिक रुपमा गरिरहेको छु, आम्दानी पनि भइरहेको छ ।” उहाँले उत्पादन गर्न सके बजारको समस्या नहुने बताउनुभयो । उहाँको बारीमा फुलेको सयपत्री फूल प्रति माला रु. ५० का दरले विक्री हुने गरेको बताउनुभयो । सयपत्री फूलको खेतीबाट थोरै लगानीमा धेरै आम्दानी हुने उहाँको बुझाई छ ।

जिल्लामा विगतका वर्षमा चाडपर्वलाई मात्रै लक्षित गरेर सयपत्रीको फूल उत्पादन गर्ने गरिएको थियो । चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगत रुपमा फूलको व्यावसायिक खेती हुने गरेको हो । मेचीनगर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक विगाह जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलको खेती लगाएका छन् । स्थानीय सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अनुदानमा लगानी गर्ने हो भने फूलको परनिर्भरतालाई हटाउन सकिने उहाँको बुभाई छ ।