२३ वैशाख २०८१, आइतवार

झापालाई लाहामा आत्मनिर्भर बनाउन विउ उत्पादन

११ असोज २०८०, बिहिवार
Image

झापा, ११ असोज । झापालाई लाहामा आत्मनिर्भर बनाउने उद्देश्यले गौरादह नगरपालिका– ९ मा लाहाको विउ उत्पादन गर्न थालिएको छ । पर्याप्त विउ उत्पादनसँगै जिल्लामा लाहाको व्यवसायिक खेती गरिने भएको हो ।

पाँच बर्ष अघि लाहा प्रशोधन कारखाना सञ्चालन गर्नुभएका डम्बर विश्वकर्माले नै लाहाको विउ उत्पादन गर्न सुरु गर्नुभएको हो । सुनका गहना बनाउन, फर्चिनरको प्राकृतिक रंग उजिल्याउन र शिलबन्द कार्यमा लाहाको प्रयोग हुने गरेको छ ।

उहाँले भारतको उडिसा र झारखण्ड भन्ने स्थानबाट लाहा उत्पादन गर्ने किरा ल्याएर दुई विगाह जमिनमा सेमियालता जातको विरुवामा लाहाको विउ उत्पादन गरिरहेको बताउनुभयो । स्थानीयवासीको दुई विगाह जमिन १३ बर्षको लागि प्रतिबर्ष रु ८० हजार भाडा तिर्ने सर्तमा लिजमा लिएर विउ लगाएको उहाँले जानकारी दिनुभयो । 

उहाँले सो जमिनबाट करिब छ क्विन्टल विउ उत्पादन हुने अनुमान गरिएको बताउनुभयो । “विउको संरक्षण र उत्पादनमा लागेको छु”, उहाँले भन्नुभयो, “यहाँका सामुदायिक वन र स्थानीय किसानले चासो राख्नु भएको छ । राम्रो विउ उत्पादन भयो भने जिल्लामा लाहाको खेती विस्तार हुन्छ ।”

भारतको पश्चिम बंगालमा सात वर्ष लाहा कारखानामा काम गर्नु भएका गौरादह नगरपालिका वडा नं. २ का ५९ वर्षीय विकले स्वदेशमै लाहा प्रशोधन गर्ने उद्देश्यले पाँच अघि रु. २० लाखको निजी लगानीमा निर्मल चप्रा उद्योग स्थापना गर्नु भएको छ ।

हाल दैनिक ३० केजी प्रशोधित लाहा (चप्रा) उत्पादन भइरहेको र बजारको माग धान्न नसकिरहेको उद्योगी विक बताउनुहुन्छ । लाहालाई कच्चा पदार्थको रुपमा प्रशोधन गरिसकेपछि चप्रा अर्थात काठ रङ्ग्याउने प्राकृतिक रसायन उत्पादन हुने गर्दछ ।

निर्मल चप्रा उद्योग मुलुककै पहिलो लाहा प्रशोधन कारखाना भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो । विगतमा पनि डिभिजन बन कार्यालयले प्रशोधनमा प्रयोग हुने अत्याधुनिक मेसिन खरिदका अनुदान दिएको थियो भने गत बर्ष पनि विउ उत्दान र यसको खेती विस्तारका लागि तालिम शीर्षकमा रु. पाँच लाख प्रदान गरेको थियो । 

उहाँका अनुसार रुखहरुमा किराबाट उत्पादन हुने कच्चा लाहा संकलन गरी चप्रा बनाउनु पर्ने हुँदा झापामा लाहा खेतीका लागि किसान र सामुदायिक बनहरुलाई प्रोत्साहित गर्न स्थाानीय सरकार समेत लाग्नुपर्ने आवश्यक छ । अहिले धनकुटा, भोजपुर र तेह्रथुमबाट विकले लाहा खरिद गरेर ल्याउने गर्नु भएको छ ।

भारतको पश्चिम बंगालको उद्योगमा काम गर्दा नेपालतिर चप्रा विक्री हुन थालेको देखेपछि स्वदेशमै उद्योगको सम्भावना देखेर आफुले उद्योग खोलेको विक बताउनुहुन्छ । तर उद्योगलाई चाहिने कच्चा पदार्थ अझै पनि ७० प्रतिशत भारतबाटै ल्याउनु परेको उहाँको गुनासो छ । 

स्थानीय किसानलाई सिरिस, बयर, खयर,सेमियालता, कुसुम जातका विरुवा लगाउन र त्यसमा लाहा खेती गर्न आग्रह गरेको उहाँको भनाई छ । स्थानीय किसानहरुले लाहा खेती गर्ने सोचले उपयुक्त जातका विरुवा खेतबारीमा रोप्न थालिसकेका छन् । सबैभन्दा लाहा खेतीका लागि उत्तम विरुवा कुसुम रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य जातको प्रति रुखबाट १० केजी मात्र लाहा उत्पादन हुन्छ भने कुसुममा ६०देखि १०० केजी उत्पादन गर्न सकिन्छ । तर विरुवा पाउनै मुश्किल भइरहेको छ ।”

सुरुमा रुखको हाँगामा बीउ लाहा राखेपछि किराहरुको कारण त्यो आफैं फस्टाएर बढ्ने गर्छ । बैशाखमा लगाएको लाहा कार्तिक महिनामा संकलनयोग्य हुने उद्योगी विकको भनाई छ । एकपटक रुखमा लगाएको लाहा खेतीबाट बर्षौसम्म आम्दानी लिन सकिने उहाँले बताउनुभयो । 

कोशी प्रदेशका झापा, सुनसरी र मोरङसम्मका फर्चिनर उद्योगहरुले गौरादहमा उत्पादित चप्रा प्रयोग गर्ने गरेका छन् । कच्चा पदार्थ अभावमा माग धान्नेगरी चप्राको उत्पादन गर्न नसकिएको उहाँको भनाई छ । जिल्लामा मात्र मासिक पाँच हजार केजी चप्रा चाहिने उहाँले बताउनुभयो ।

नेपालमा फर्चिनर उद्योगहरु नै चप्राको मुख्य प्रयोगकर्ता हुन् । लाहालाई सुनको गहना उत्पादन र शिलबन्दी कार्यमा प्रयोग गरिन्छ । निर्वाचनका बेला शिलबन्दीका लागि भारी मात्रामा लाहाको प्रयोग हुने गरेको छ । भारतबाट महंगो मूल्यमा यसको आयात हुँदै आएको छ । 

उहाँले तयारी लाहाको चप्रा प्रतिकेजी रु सात सयदेखि रु एक हजारसम्ममा विक्री हुँदै आएको बताउनुभयो । उहाँका अनुसार स्वदेशमै गुणस्तरीय चप्रा उत्पादन गर्न सके वर्षेनी करोडौं रुपैयाँ विदेश जाने क्रम रोकिने छ । उहाँले स्थानीय सरकार र नेपाल सरकारका कर्मचारीले लाहाको महत्व नबुझेको गुनासो गर्नुभयो । 

उहाँले पटक पटक भारतबाट लाहाको विउ उत्पादन गर्न ल्याएको किरा भन्सारले रोकिदिँदा समस्या हुने गरेको बताउनुभयो । विउ किरा रुखबाट उप्काएको तीन दिनभित्रमा रोप्नुपर्ने भएता पनि भन्सारले ढिलासुस्ती गरिदिँदा ९० प्रतिशत कुरा मरेर ठूलो घाटा व्यहोर्नु परेको उहाँको भनाई छ । 

नेपालमा चप्रा आयातमा वर्षेनी करोडौं रकम विदेशिने गरिरहेको बताउँदै उहाँले भन्नुभयो “किसानलाई लाहा खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले विउ उत्पादन र तालिमका लागि गतबर्ष रु पाँच लाख खर्च गरेका छौं । एक दुई बर्षभित्र अपेक्षाकृत उत्पादन हुन्छ भन्ने विश्वास छ ।” उहाँले कोशी प्रदेशका विभिन्न जिल्लाका किसान र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई लाहा खेती सम्बन्धी तालिम समेत दिँदै आएको बताउनुभयो ।


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।