२१ वैशाख २०८१, शुक्रवार

एकीकृत समाजवादीको जागरण अभियान सुरु

१४ असोज २०८०, आइतवार
Image

झापा, १४ असोज  । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पुर्याएर समास्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभियान’ सुरु गरेको बताउनुभयो । 

उहाँले पूर्वी नाका काँकरभिट्टाबाट आजदेखि सुरु गरिएको एकीकृत समाजवादी जागरण अभियान २०८० मेची –महाकाली यात्राको उद्घाटन गर्दै युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र मुलुकमा सुशासन कायम गर्ने मुख्य ध्येयले जागरण अभियान सुरु गरेको बताउनुभयो । 


जनताको चाहना र भावनालाई सम्बोधन गरी विशाल हृदयले सबैलाई साथमा लिएर एकताबद्ध बनाई अगाडि बढ्ने पार्टीको लक्ष्य रहेको उहाँको भनाई छ । अध्यक्ष नेपालले भन्नुभयो, “समाजवादी जागरण अभियानमार्फत देशभक्तिको झण्डा फहाराउने, लोकतन्त्रको आवाज बुलन्द गर्ने, गणतन्त्र रक्षाको निम्ति लड्ने र संविधानलाई बलियो बनाउनका लागि जनतामा जागरण पैदा गर्नेछौं ।”

देशमा भ्रष्टाचारजन्य क्रियाकलाप बढिरहेको र जनताको समस्यालाई बेवास्ता गर्ने प्रवृत्ति विभिन्न पार्टीहरुमा हुर्किएको रहेकाले यसको अन्त्य गर्न आवश्यक रहेको उहाँको धारणा थियो । उहाँले राष्ट्रिय पुँजीको विकास गरी मुलकुमा कृषिजन्य उद्योगहरु खोल्न सके युवाहरुमा रोजगारीको सिर्जना गर्न सकिने सम्भावना प्रशस्त भएको बताउनुभयो । 

कार्यक्रममा पार्टीका बरिष्ठ नेता झलनाथ खनालले अनेकौं व्यवस्था बद्लिए पनि जनताको अवस्था नबद्लिएका कारण पार्टीले अभियान सुरु गरेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक क्षेत्र दिशाहीन हुँँदै जाँदा व्यापार घाटा बढ्नुका साथै महंगी बढेर देशमा आर्थिक संकट चरम रुपमा पुग्दा समेत सरकारले नियन्त्रण गर्न नसकेको गुनासो गर्नुभयो । 

उहाँले बर्तमान अवस्थामा राष्ट्रियता नै ठूलो संकटमा गुज्रिएको, विदेशी हस्तक्षेप बढेको, देशको सीमानाको संरक्षण गर्न नसक्ने अवस्थामा सरकार पुगेको बताउनुभयो । बरिष्ठ नेता खनालले पार्टी र जनतालाई बलियो बनाउने विश्वासका साथ अभियान सञ्चालन गरिएको बताउनुभयो ।  

पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संकट चुलिँदै गएको अवस्थामा पार्टीले आयोजना गरेको अभियानले नयाँ दिशानिर्देश गर्न सक्ने बताउनुभयो । 

उहाँले अभियान एक दुइ दिनको मात्र नभएर युवालाई यही मुलुकमा रोजगारी सिर्जना नभएसम्म जारी रहने बताउनुभयो । उहाँले यात्राकै कारण मुलुकमा कुनै पनि सदस्यलाई भविष्यमा भ्रष्ट र गैरजिम्मेवार हुनबाट रोक्ने समेत विश्वास व्यक्त गर्नुभयो । 

उहाँले पहिलो चरणमा मेचीबाट सुरु गरिएको अभियान सुर्खेत पुगेर यही असोज २९ गते सकिने बताउनुभयो । एक हजार दुई सय किलोमिटरको यात्रामा प्रत्यक्ष रुपमा जनताको समस्या बुझ्ने र सम्वादको माध्यमबाट युवालाई कार्यक्रम बनाएर रोजगारीतर्फ लैजाने उहाँको भनाई छ । 

कार्यक्रम सुरु हुन अघि विभिन्न जातजातिका झाँकीसहित निकालिएको र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष, सचिव, केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्यको सहभागिता रहेको थियो । पार्टीका कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको पुष्प पोखरेलले सञ्चालन र केन्द्रीय सदस्य चन्दा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।