२० वैशाख २०८१, बिहिवार

पीडित परिवारको सहमतिबेगर कैद माफी दिनुहुँदैन ः महामन्त्री शर्मा

२० असोज २०८०, शनिवार
Image

झापा, २० असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरुलाई राजकीय सत्ताको बलमा कैदमा आममाफी दिने कानूनी व्यवस्था गलत भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै उहाँले कानूनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर आममाफी दिने प्रचलन बढ्दै जाँदा जनतामा असन्तुष्टि बढेको धारणा व्यक्त गर्नुभयो ।

“सोझै नेताहरुले राष्ट्रपति प्रयोग गरेर कैदमा आममाफी दिनु गलत हो,” उहाँले भन्नुभयो–“माफी नै दिनुपर्दा पीडित परिवारको सहमतिमा मात्र दिइने कानूनी व्यवस्था हुनुपर्छ ।” उहाँले पीडित परिवारको सहमतिबेगर कुनै पनि आममाफी दिन नहुने माग गर्नुभयो ।

महामन्त्री शर्माले साउदी अरब जस्ता मुलुकमा मृत्युदण्ड घोषणा भइसकेका अभियुक्तलाई समेत आममाफी दिने चलन रहेको चर्चा गर्दै उहाँले भन्नुभयो–“त्यहाँ मृत्युदण्डको फैसला भइसकेका व्यक्तिलाई पनि ब्लडमनीका आधारमा सजायबाट माफी दिने चलन नभएको होइन । तर, त्यो ब्लडमनी स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा राजकीय सत्ताले होइन, पीडित परिवारले निर्णय गर्छ ।”

मन्तब्यको क्रममा उहाँले वत्र्तमान गठबन्धन सरकारको तत्काल कुनै बिकल्प नभएको बताउनुभयो । गत चुनावमा कुनै दललाई एक्लै बहुमतको सरकार चलाउने जनादेश नभएका कारण नेपाली कांग्रेसले गठबन्धन निर्माण गरेको उहाँको धारणा थियो । 

भ्रष्टाचारविरुद्धको फाइल खोलेर गठबन्धन सरकारले राम्रो कार्य गरेको जनाउँदै उहाँले सरकारले राम्रो काम गर्दा समर्थन र नराम्रो काम गरे विरोध जनाउने नीति लिएको स्पष्ट पार्नुभयो । उहाँले शिक्षा विधेयकमा सरकारले कमजोरी गरेको हुँदा अब नेपाल शिक्षक महासंघसँग भएको सहमतिको हुबहु पालना गर्दै संशोधनसहित विधेयक सदनमा ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वी नेपालमा हिंसा र अशान्तिको गन्ध आउन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले कांग्रेस सरकारमा हुँदा मुलुकमा शान्ति स्थापना हुने र सरकारको नेतृत्वमा नहुँदा हिंसाका घटना बढ्ने गरेको जिकीर गर्नुभयो ।