चेम्बर अफ कमर्स
चेम्बर अफ कमर्स
मेचीनगर, २१ असोज । धुलाबारीमा मेची चेम्बर अफ कमर्सले दोस्रो पटक महोत्सव लगाउने भएको छ ।
आज कमर्सले धुलाबारी स्थित रोयल निर्वानमा आयोजना गरेको पत्रकार सम्मेलनमा यही असोज २६ गतेदेखि झधुलाबारी महोत्सव–२०८०झ लगाउने भएको जानकारी दिएको हो ।
कमर्सका महासचिव प्रकाश खड्काले यहि असोज २६ गतेदेखि २१ दिने महोत्सव सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।
मेचीनगर नगरपालिका र जिल्ला प्रसाशन कार्यालय झापाबाट कानुनको मापदण्डमा रहेर महोत्सव सञ्चालन गर्न पाउने स्वीकृति लिएको प्रदीप ईन्टरप्राइजेजका सञ्चालक एवम् ठेकेदार रेवन्त कटुवालले जानकारी दिए ।
महोत्सवमा कमर्सको ५ वटा स्टलसहित १५ स्टल रहनेछ । कमर्सको सचिवालय, स्वास्थ्य, मिडिया हेल्थ डेक्स, अशक्त र अपाङ्ग, हस्तकलाको स्टलसहित अन्य १० वटा स्टल रहने उनले बताए ।
कृषि, पर्यटकीय व्यापारिक सांगीतिक तथा फुड फेस्टिवल महोत्सवमा करिव ४५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
नाफा कमाउने उद्वेश्यले नभइ धुलाबारी बजारको पुरानो साखलाई बचाउने र यहाँको कृषिलाई प्रबर्द्धन गर्ने लक्ष्यका साथ सो महोत्सव लगाउने तयारी गरिएको महासचिव खड्काले बताए ।
हङकङ मार्केटको रूपमा परिचित धुलाबारी बजार केही वर्षदेखि असुरक्षा र व्यापार घाटाका कारण व्यापारीहरू पलायन भईरहेका छन् ।
महोत्सवमा रोटेपिङ्ग, नाउँ, बालबच्चाका लागि मनोरञ्जनका सामाग्री लगायत सांस्कृतिक कार्यक्रमहरू हुनेछ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको वेजोड सांगीतिक प्रस्तुति रहने छ ।
टिकटको मूल्य एकसयदेखि २ सय रूपैयाँसम्म लाग्ने छ । महोत्सवमा सीसी क्यामेरा र सुरक्षाको प्रबन्ध मिलाइएको छ ।
महोत्सवमा १० वर्षका विद्यार्थी, ज्येष्ठ नागरिक र असहायहरूलाई निःशुल्क गरिएको आयोजकको भनाई छ ।
गतवर्ष आयोजना गरिएको महोत्सव विभिन्न कारणले गर्दा घाटामा गएको कमर्सका अध्यक्ष रूकमिणा आचार्य पोखरेलले बताइन् ।
उनले विगतको पाठ सिकेर यसपटक व्यवस्थित महोत्सव लगाउन सुरू गरिएको बताइन् । उनले महोत्सव सफल बनाउन सबैलाई सहयोग गर्न आग्रह गरिन् ।
महोत्सवको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गर्नेछन् ।
महोत्सव सञ्चालनका लागि १०१ मुल समिति गठन गरिएको छ । महोत्सव मुल व्यवस्थापन समिति संयोजकमा कमर्सका निवर्तमान अध्यक्ष रविन वस्नेत, सहसंयोजकमा ध्रुबविक्रम नेम्बाङ, सचिवमा प्रकाश खड्का लगायत रहेका छन् ।
महोत्सव लगाउन धुलाबारी रोलिङ क्लबको अहम भूमिका रहेको छ ।