२० वैशाख २०८१, बिहिवार

निर्मम सरकारी दमनको विरोधमा उत्रिए मेचीनगरका कर्मचारी

२३ असोज २०८०, मङ्गलवार
Image

मेचीनगर, २३ असोज । आन्दोलनरत् कर्मचारीलाई सरकारले गरेको चर्को प्रहरी दमनको विरोधमा मेचीनगर नगरपालिकाका कर्मचारीहरुले प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौंमा सरकारले आन्दोलनरत् स्थानीय तहका कर्मचारीमाथि निर्मम लाठी प्रहार गरेर दमन गरेको थियो । घटनामा दर्जनौं कर्मचारी घाइते भएका थिए ।

उक्त दमनको विरोधमा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरमा आवद्ध कर्मचारीहरुले आज प्रदर्शन गरेका हुन् । 

कर्मचारी कुटपिट अन्त्य गर, कर्मचारी माथिको दमन बन्द गर लगायतका नाराबाजी गर्दै मंगलबार नगरपालिकाको मुख्य प्रवेशद्वारमा विरोध कार्यक्रमको आयोजना गरियो । 

विरोध कार्यक्रममा मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगरका निवर्तमान अध्यक्ष रविनसन थापामगर, सल्लाहकार सदस्य जीवन भट्टराई र पवित्रा ढकाललगायतले बोल्नु भएको थियो । 

उहाँहरूले राज्यबाट भएको दमनकारी घटनाको निन्दा गर्दै कर्मचारीहरूको जायज मागलाई चाँडैं सम्बोधन हुनुपर्ने धारणा राख्नु भएको थियो । 

सरकारले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै अहिले देशैभर स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनरत् छन् । 

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति मेचीनगर सचिव आयुसमान निरौलाको अध्यक्षतामा आयोजना भएको विरोध कार्यक्रमको सञ्चालन सहसचिव नरमाया निरौलाले गर्नु भएको थियो । 

सोमवार काठमाडौंमा प्रहरीका तर्फबाट कर्मचारीमाथि निर्मम दमन भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

कर्मचारीको शान्तिपूर्ण प्रदर्शनमाथि सशस्त्र प्रहरीको टोलीले जथाभावी लाठी प्रहार गरेको थियो । त्यसक्रममा महिला कर्मचारी बढी प्रताडित भएका थिए ।

सशस्त्र प्रहरीको जथाभावी लाठी प्रहार रोक्न नेपाल प्रहरीको त्यहीँ खटिएको टोलीले प्रयास गरेको थियो । त्यसक्रममा सशस्त्र र नेपाल प्रहरीका कमान्डरहरुबीच नै विवाद भएको बताइएको छ ।