२१ वैशाख २०८१, शुक्रवार

मोदीले गुपचुप गुञ्जीको भ्रमण गरेकोमा नेपालको आपत्ति

२५ असोज २०८०, बिहिवार
Image

झापा, २५ असोज । नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला नजिक गुञ्जी क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान गुपचुप भ्रमण गर्नुभएकोमा नेपालले आपत्ति जनाएको छ ।

दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा गरेको भ्रमणका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा जानकारी लिने क्रममा रहेको बताउनु भएको छ ।

उहाँले एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदा प्रोटोकल पूरा गर्नुपर्ने भन्दै त्यस विषयमा के भएको रहेछ भन्ने विषयमा बुझ्ने बताउनु भयो ।

दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा मोदीले भ्रमण गरेको विषय सांसदहरूले संसदमा समेत विरोधको आवाज उठाउनु भएको छ ।

हेलिकोप्टरबाट बिहीबार बिहान कालापानी क्षेत्रमा आउनु भएका भारतीय प्रधानमन्त्री मोदीले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्नुभएको बताइएको छ । गुन्जीका स्थानीय बासिन्दासँग अन्तरक्रिया समेत गरेको बताइएको छ ।

उहाँले भ्रमण गरेको क्षेत्र सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्साभित्रै पर्दछ । नेपाली भूभागको भ्रमणमा आउँदा मोदीले नेपाल सरकारलाई पूर्व जानकारी दिनुपर्ने अन्तर्राष्ट्रिय नियम छ ।