२० वैशाख २०८१, बिहिवार

मञ्चमा एमाले नेता बस्नेतको भाषण, बाहिर पहिचानबादी र प्रसाई समर्थकको प्रदर्शन

२५ असोज २०८०, बिहिवार
Image

झापा, २५ असोज । नेकपा एमालेका नेता महेश बस्नेत आज शनिश्चरे आउँदा पहिचानबादीहरुले विरोध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय युवा संघ अर्जुनधाराको अधिवेशनमा प्रमुख अतिथिको रुपमा एमाले नेता बस्नेत शनिश्चरे आउनु भएको थियो ।

एमालेका युवा कार्यकर्ता र पहिचानबादीबीच झडप नहोस् भनेर प्रशासनले ठूलो संख्यामा शनिश्चरेमा प्रहरी परिचालन गरेको थियो ।

कडा सुरक्षा व्यवस्थाका कारण पहिचानबादीहरुको विरोध एमालेको कार्यक्रमस्थल बाहिरै सीमित रह्यो । तर आक्रोशित प्रदर्शनकारीले एमालेको कार्यक्रममा आएका सहभागी र नेताहरुको पार्किङमा रहेको सवारी साधनमा तोडफोड गरेका छन् ।

तोडफोडबाट एक दर्जन गाडीका सिसा फुटेका छन् । केहीबेर प्रहरी र पहिचानबादीबीच ढुंगा हानाहान समेत भएको थियो ।

कार्यक्रममा आउनु भएको एमाले नेता बस्नेतले सुरक्षा घेराबीच नै कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । उहाँ मञ्चमा भाषण गरिरहनु भएको र बाहिर पहिचानबादीहरुले मुर्दाबादको नारा घन्काइरहेका थिए ।

यसैबीच, एमाले नेता बस्नेतको विरोध गर्न नागरिक बचाउ अभियानका नेता दुर्गा प्रसाईका समर्थकहरु पनि शनिश्चरे पुगेका थिए ।

युवा संघका कार्यकर्ताले राजधानीमा प्रसाईलाई केही दिन अघि दूव्र्यवहार गरेपछि प्रसाईका समर्थकले एमालेका युवा नेता बस्नेतलाई झापामा टेक्न नदिने चेतावनी दिदै आएका थिए ।

एमाले नेता बस्नेत पहिचानबादी र प्रसाईका समर्थकहरुको विरोधका बीच कार्यक्रम सम्पन्न गरेर आजै काठमाडौं फर्कनु भएको छ ।

उहाँले झापामा रहँदा पहिचानबादी र प्रसाईका समर्थकले गाडी तोडफोड गरेको फेसबुकमा लेख्नु भएको छ ।