२० वैशाख २०८१, बिहिवार

कोशीमा को बन्लान् नयाँ मुख्यमन्त्री ?

२६ असोज २०८०, शुक्रवार
Image

झापा, २६ असोज । प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्री पदमा कसलाई नियुक्ति गर्नुहुनेछ ? अब यसको निर्णय छिट्टै आउने छ ।

संविधानको धारा १६८ दफा ५ अन्तर्गत मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखलेले दिएको समय सीमा आज साँझ ५ बजेबाट सकिँदैछ । तर, हिजै मुख्यमन्त्रीमा दाबी आइसकेको छ । 

सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको छ । उहाँले कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाउनुभयो ।

तर, गठबन्धनका शीर्ष नेताको निर्णयप्रति असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षले एमालेसँग समीकरण गरेको छ । नेपाली कांग्रेसका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गर्नु भएको छ ।

कार्कीले आफूसहित कांग्रेसका ९ प्रदेशसभा सदस्य र एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गर्नुभएको हो ।

कोशीमा उपसभामुखसहित एमालेका ४० सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ ।

यसैबीच, कांग्रेसबाट मुख्यमन्त्री दावी गर्नु भएको केदार कार्कीलाई दावी त्याग्न पार्टीले निर्देशन दिएको छ । दावी नत्यागे पार्टीले कार्वाहीको डण्डा चलाउने सम्भावना पनि छ ।

निष्काशनको कार्वाही नै भयो भने पनि संसद्को नेतृत्व उपसभामुख सिर्जना दनुवारसँग भएकाले कांग्रेसको कार्वाहीले मान्यता नपाउने सम्भावना छ । दफा पाँचमा जाँदा सांसद्हरुलाई पार्टीको ह्वीप नलाग्ने नजिर पहिल्यै बनिसकेको छ ।