२० वैशाख २०८१, बिहिवार

कोशीमा कांग्रेसको संसदीय दलको नेताबाट थापाको राजीनामा

२७ असोज २०८०, शनिवार
Image

झापा, २७ असोज । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिनुभएको छ ।

काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो ।

शनिबार पत्रकार सम्मेलन गर्दै उहाँले नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो । कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको थापाले बताउनुभएको हो ।

‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरी आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश ससदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहँदै आगामी दनमा क्रियाशील रहनेछु’ उहाँले राजीनामा पत्रमा भन्नुभएको छ ।

कोशीमा दुई दुई पटक मुख्यमन्त्री बनेका थापाको दुबै पटकको सरकार सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । आफूले दुई पटक मुख्यमन्त्री बन्दा पनि आफूले त्यसलाई जोगाउन नसकेको स्वीकार गर्नुभएको छ । अदालतले पदमुक्त गरेपछि आफूले त्यतिबेलै राजीनामा गर्नुपर्ने विचार गरे पनि विभिन्न कारणले ढिलो भएको थापाको भनाइ छ ।

थापाले केदार कार्की मुख्यमन्त्री भएकामा बधाई दिनुभएको छ । उहाँले कार्की मुख्यमन्त्री भएकै दिन राजनीनामा दिनु संयोगमात्र भएको बताउनुभयो ।