२० वैशाख २०८१, बिहिवार

मेचीनगरका मेयरले बोलाए सर्वपक्षीय बैठक

१ कार्तिक २०८०, बुधवार
Image

मेचीनगर, १ कार्तिक । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले विहीवार दसैंको मुखमा सर्वपक्षीय बैठक आह्वान गर्नुभएको छ ।

नगरपालिकामा हुने उक्त बैठकमा नगरका राजनीतिक दलको नेतृत्व, सामाजिक संघ संस्थाका अगुवा लगायतलाई आमन्त्रित गरिएको छ ।

बेलायतको फोक्सटन सिटीको भ्रमण सकेर आएपछि नगरप्रमुख बुढाथोकीले बोलाएको यो पहिलो बैठक हो ।

उहाँले दलहरुलाई पठाएको निम्तो पत्रमा समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको उल्लेख गरिएको छ । नगरप्रमुख बुढाथोकीले सवै पक्षसँग नगरले गर्नुपर्ने काम कार्वाहीका बारेमा सल्लाह चाहेको हुनसक्ने दलका नेताहरुको बुझाई छ ।

एक्सनमुखी हुन नसकेको आरोप खेपिरहेका नगरप्रमुख बुढाथोकी बेलायतबाट फर्केपछि नयाँ सोचका साथ बढ्न चाहिरहेको उहाँ निकटहरु बताउँछन् । प्यारीभिट्टा बसपार्कको सञ्चालन गरेर उहाँले यसको संकेत दिइसक्नु भएको छ ।

विहीवारको बैठकमा नगरकी उपप्रमुख मीना उप्रेती भने उपस्थित हुनुहुने छैन । उहाँ सासुआमाको शोक बारिरहनु भएको छ । 

बैठकमा नयाँ प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीको सहभागिता रहनेछ । रेग्मी आएपछि नगरपालिकाले आयोजना गरेको यो पहिलो सर्वपक्षीय बैठक हो ।

अधिकांश वडा कार्यालयको अनुगमन गरिसक्नु भएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले कर्मचारी तन्त्र र जनप्रतिनिधिबीच पुल बनेर नगरपालिकाको कामकाजलाई नयाँ ढंगबाट अघि बढाउन चाहिरहनु भएको छ ।

भद्रपुर नगरपालिकामा लामो अवधि प्रशासनिक नेतृत्व गर्नुभएको रेग्मी राजनीतिक दलहरुबीच सन्तुलन र कर्मचारीहरुबीच तालमेल बनाएर अघि बढ्न दक्ष मानिनुहुन्छ ।