२० वैशाख २०८१, बिहिवार

दसैं नेपालीहरुको ‘साझा चाड’ : ओली

३ कार्तिक २०८०, शुक्रवार
Image

झापा, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं नेपालीहरुको “साझा चाड” र समृद्ध नेपाल र सुखी नेपाली “साझा आकांक्षा” भएको बताउनु भएको छ ।

बडा दसैं, तिहार, छठ, नेपाल सम्बत् लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजना गर्नु भएको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले दसैंको सांस्कृतिक महत्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैंलाई उल्लासपूर्वक मनाउने गरेको बताउनुभयो ।

उहाँले विविधतायुक्त नेपाली समाजमा दसैंले आपसी सद्भाव, सहकार्य र सहिष्णुताको सकारात्मक सन्देश प्रवाहित गर्न सफल रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले जमरा र अक्षता लगाउने चलनले दसैंलाई विशिष्ट पहिचान दिलाएको जनाउँदै पारिवारिक र सामाजिक रुपमा टाढिएको सम्बन्धलाई पनि दसैंको टिका र आशिर्वाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने बताउनुभयो ।

शुभकामना कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक आर्थिक दृष्टिले ठूलो संकटको डिलमा आइपुगेको चर्चा गर्दै यसको जिम्मेवारी वत्र्तमान गठबन्धन सरकारले लिनुपर्ने बताउनुभयो ।

उहाँले महँगी आकाशिएर गरीवको चुलो नबल्ने अवस्था आए पनि सरकारले चाडपर्वका बेला बजारलाई व्यवस्थित गर्न नसकेको आरोप लगाउनुभयो । 

सो अवसरमा शुभकामना मन्तब्य ब्यक्त गर्दै नेकपा माओबादी केन्द्रकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री धर्मशीला चापागाईले मुलुकमा जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक अधिकारहरु खोस्न चाहने शक्तिहरु सलबलाइरहेको हुँदा परिवर्तनका पक्षधरहरु सचेत रहनु पर्ने बताउनुभयो । 

उहाँले परिवर्तन पक्षधर दलहरु आपसमा मिलेर अघि बढ्नुको बिकल्प नरहेको जिकीर गर्दै प्रतिगामी चुनौतिहरुलाई परास्त गर्न हिजो जनान्दोलनमा सहभागी भएका राजनीतिक शक्तिहरुबीच सहकार्य बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले सबै राजनीतिक दलका नेताहरुलाई आमन्त्रित गरेर दसैंमा शुभकामना आदानप्रदान गर्ने चलनले राजनीतिक शक्तिहरुबीच सम्बन्ध सौहार्दपूर्ण बनाउन मदत पुगेको बताउनुभयो ।

वि.सं. २०५१ सालमा नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन भएपछि हरेक वर्षको दसैंको नवमीका बेला अध्यक्ष ओलीले गृहजिल्लामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनु भएको छ ।

नेकपा एमाले झापा जिल्ला कमिटीले व्यवस्थापन गर्दै आएको सो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका जिल्लास्थित मुख्य नेताहरु सहभागी हुँदै आएका छन् ।

कोशी प्रदेशको नामाकरण पश्चात पहिचानबादी दल र संघ संस्थाहरुले विरोध अभियान सञ्चालन गरिरहेको हुँदा आजको शुभकामना आदानप्रदान कार्यक्रमस्थल बाहिर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।