२१ वैशाख २०८१, शुक्रवार

अपांग युवाहरूसँग विश्वप्रकाशको दसैं

४ कार्तिक २०८०, शनिवार
Image

झापा, ४ कार्तिक । दसैंमा मीठो खाने, नयाँ लुगा लगाउने र आफन्तजनसँग भेटघाट गर्ने प्रचलन हुन्छ । राजनीतिक दलले भने चियापान कार्यक्रमसँगै शुभकामना आदानप्रदान गर्ने परम्परा देखिन्छ । 

नेपाली काँग्रेसको झापा–१ काठमाडौ सम्पर्क समिति र सो क्षेत्रका सांसद विश्वप्रकाश शर्माले भने यसपालि दसैंलाई भिन्न ढंगले स्वागत गरेका छन् ।

सुस्त मनस्थिति र अपांगता भएका बालबालिकाको एक संरक्षण गृह काठमाडौको शंकरापुरमा छ । त्यहाँ रहेका ५३ जनामध्ये कोहि बोल्न नसक्ने र कोहि उभिन नसक्ने छन् । कोहि ह्विलचेयरमा छन् त कोहि सुस्त मनस्थितिका छन् । 

सम्पर्क समितिको संयोजनमा सांसदको तलबबाट केही रकम अनि केही रकम समितिका सदस्यहरुबाट संकलित गरेर खाद्यान्न तथा रकम गरी ४० हजार रुपैयाँ बराबरको सहयोग गरेर अपांगता भएका युवाहरूसँग आज विश्वप्रकाश र कांग्रेस सम्पर्क समितिले दसैं मनाएका छन् ।

न आसन ग्रहण, न भाषण, न खादामाला । सांसद शर्मा र सम्पर्क समितिका सभापति प्रज्ज्वल कोइराला झापा–१ सम्पर्क समितिका साथीहरू सहित पुगे । सहयोग गरे, उनीहरुलाई ढाडस दिए, अन्य बेलामा आवश्यक सहयोग गर्ने वचन दिए र फर्किए । 

विभिन्न जिल्लाका यी अपांगता भएका नागरिकलाई संरक्षण गरेर राख्ने समाजसेवी युवराज थापा आफैं अपांग छन् । अपांगता भएर पनि आफू जस्तै अरु धेरैको संरक्षण र सेवा गरेकोमा उनलाई सम्पर्क समितिले सम्मान समेत गरेको छ ।

दसैं धनी होस् या गरीव, सबैको घरआँगनमा आउँछ । तर, सबैसँग नयाँ नाना किन्ने, चिची  किन्ने सामर्थ्य नहुन सक्छ । सामर्थ्य नहुनेहरुलाई विश्वप्रकाशले झैं सहयोग पुर्याउने हो भने दसैं सबैको मनमा उल्लास बोकेर आउनेछ ।