२० वैशाख २०८१, बिहिवार

विर्तामोडका विस्थापित व्यवसायीले पाए बजार

५ कार्तिक २०८०, आइतवार
Image

झापा, ५ कार्तिक । विर्तामोडको देबी हाटबाट गत जेठमा विस्थापित सयौं साना व्यापारीले पाँच महिनापछि विर्तामोडकै बजार क्षेत्रमा व्यवसाय सञ्चालनका लागि नयाँ पसल पाएका छन् ।

उद्योग वाणिज्य संघ र स्थानीय जग्गाधनीको पहलमा विर्तामोडको पूर्वी बसस्टेन्ड, पश्चिम बस स्टेन्ड र बुधवारे हटिया नजिक नवनिर्मित तीन वटा सुविधासम्पन्न व्यापारिक स्थलमा विस्थापित व्यवसायीहरुलाई व्यवसाय गर्ने अवसर दिइएको हो ।

गत जेठको दोस्रो साता विर्तामोड नगरपालिकाको वडा नं. ५ स्थित देवी हाटको भौतिक संरचना नगरपालिकाले डोजर लगाएको हटाएको थियो । जसबाट १४४ जना साना व्यवसायी विस्थापित हुनुपरेको थियो । आधुनिक बहुउद्देश्यीय व्यापारिक भवन बनाउने प्रयोजनका लागि नगरपालिकाले सो स्थान खाली गराएको थियो ।

तिनै विस्थापित व्यवसायीलाई नवनिर्मित बजारमा पुनस्र्थापित गरिएको हो । निजी जग्गामा निजी लगानीबाटै निर्मित संरचनामा व्यवसायीहरुले भाडामा पसल सञ्चालन गर्न पाएका छन् ।  

पूर्व बस स्टेन्ड नजिक खुलेको ४४ वटा सटर भएको बजारको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले हालै उद्घाटन गर्नुभयो भने पश्चिम बसस्टेन्डमा निर्मित बजारको विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले उद्घाटन गर्नुभएको थियो । 

पूर्वी बसस्टेन्ड नजिक बनेको बजारको दुई कठ्ठा जग्गा स्थानीय दुर्गा थपलियाको हो । उहाँले हरेक व्यसायीबाट रु. एक लाख धरौटी लिनुभएको छ भने प्रतिसटर रु. ५ हजार, रु. ६ हजार र रु. ७ हजार भाडादर तोक्नु भएको छ । उक्त बजारमा कपडा, कस्मेटिक, तयारी पोशाक, जुत्ताचप्पल, खेलौना, होटल लगायतका पसल छन् ।

यसैगरी, पश्चिम बसस्टेन्ड नजिकको नवनिर्मित बजार स्थानीय शान्ता शिवाकोटी, पवित्रा खड्का र सरिता खत्रीको स्वामित्वमा रहेको पौने तीन कठ्ठा जग्गामा रहेको छ ।

उक्त बजारमा ४६ जना व्यवसायीले पसल सञ्चालन गर्न थालेका छन् । पसलको मासिक भाडा रु. दुई हजार रहेको बताइएको छ । प्रति पसल रु. एक लाख धरौटी समेत लिइएको बजार सञ्चालकहरुले जानकारी दिएका छन् ।

वर्षौदेखि पसल सञ्चालन गर्दै आएका साना व्यवसायीले देवी हाटबाट विस्थापित हुनुपरेपछि उनीहरुको विचल्ली भएको थियो । विचल्लीमा परेका साना व्यवसायीलाई संरक्षण गर्न विर्तामोडभित्रै नयाँ बजार निर्माण गरिएको विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष न्यौपानेले बताउनुभयो । 

पसल खाली गराईको देवी हाट उत्तरतिरको भागमा नवनिर्मित बजारमा ४९ वटा पसल सञ्चालन भएका छन् । विर्तामोड उद्योग वाणिज्य संघका पूर्व महासचिव सुवास भट्टराईले देवी हाटबाट विस्थापित सबै परिवार अब नयाँ बजारहरुमा पुनःस्थापित भइसकेको बताउनुभयो ।