४ जेठ २०८१, शुक्रवार

ओलीले सारंगी रेटेर ‘आमा दिदी बहिनी हो’ गाएपछि.....

७ कार्तिक २०८०, मङ्गलवार
Image

झापा, ७ कात्तिक । राजधानीको राजनीतिक व्यस्ततालाई पन्छाउँदै दसैं उल्लास मनाउन गृहजिल्ला आउनु भएको नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सारंगी रेटेर आफ्नो समुदायको समस्या सुनाउन पाउँदा झापाका गन्धर्वहरु हर्षित भएका छन् ।

कचनकबल वडा नं. २ स्थित गन्धर्व वस्तीबाट ६० किलोमिटर टाढा दमकको ओली निवासमा रविन गन्धर्वको नेतृत्वमा गन्धर्वहरुको एउटा टोली आइतवार राति पुग्दा समय नपाइएला कि भन्ने चिन्ता थियो । तर, गन्धर्वहरु आएको थाहा पाउनासाथ ओलीले भेटघाटको पहिलो प्राथमिकता दिनुभयो । 

आफ्नो निवासको कोठामै पुगेका गन्धर्वहरुलाई अध्यक्ष ओलीले डेढ घण्टा समय मात्र दिनु भएन, उनीहरुको मनबाट पोखिएका वह धैर्यपूर्वक सुनिदिनु भयो । अन्त्यमा, आफैले सारंगी रेटेर गीत सुनाउनुभयो र रु. एक लाख सहयोग दिएर पठाउनुभयो ।

गन्धर्वहरुसँगको भेघघाटमा एमाले अध्यक्ष ओलीले सारंगी रेटेर ‘आमा दिदी बहिनी हो....’ बोलको जनबादी गीत गाउनु भएको थियो । ओलीले सुर, ताल र धुन मिलाएर सारंगी रेटेको देखेर गन्धर्व कलाकारहरु समेत चकित भएका थिए ।


संगीतमा रुचि राख्ने अध्यक्ष ओलीले गन्धर्व समुदायको सांस्कृतिक संग्रहालय निर्माणका लागि रु. एक लाख सहयोग प्रदान गर्नुभएको हो । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा गन्धर्व सांस्कृतिक संग्रहालय बनाउन पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजले गत एक वर्षदेखि मेची–महाकाली अभियान सञ्चालन गरिरहेको छ ।

समाजका अध्यक्ष रविन गन्धर्वको नेतृत्वमा रहेको समाजको टोलीले एमाले अध्यक्ष ओलीलाई भेटेर गन्धर्व समुदायको समस्या र मागहरु अवगत गराएको थियो । टोलीले गन्धर्वहरु नेपालमा मात्र बसोबास गर्ने संसारकै लोपोन्मुख जाति भएको हुँदा राज्यका तर्फबाट सामाजिक सुरक्षा अन्तर्गतका सुविधा दिनका लागि पहल गरिदिन ओलीलाई अनुरोध गरेको थियो ।

समाजका अध्यक्ष रविब गन्धर्वले नेपालमा गन्धर्वहरुको जनसंख्या छ हजार जति रहेको र उनीहरु गाउँवस्ती डुलेर सारंगीमा गीत गाएरै जीविका चलाउन बाध्य रहेको ओलीलाई बताउनु भएको थियो ।     

गन्धर्व समुदायले संग्रहालय निर्माण र सामाजिक सुरक्षा प्राप्तिका लागि सञ्चालन गरेको मेची महाकाली अभियानलाई आगामी दुई वर्षभित्र देशका ७५३ वटै पालिकामा पुर्याउने भएका छन् । हाल कोशी प्रदेशका १३१ पालिकामा अभियानलाई पुर्याएको बताइएको छ ।


कात्तिक ३ गते गृहजिल्ला झापा आउनु भएको अध्यक्ष ओली चार दिने झापाको विभिन्न अनौपचारिक कार्यक्रममा सहभागी भएर आज काठमाडौं फर्किदै हुनुहुन्छ ।

खेती र उद्यममा ओलीको चासो

जिल्ला समन्वय समिति झापाका निवत्र्तमान प्रमुख सोमनाथ पोर्तेलले एमाले अध्यक्ष ओलीले दसैंको अति व्यस्तताका बीच यसपालीको झापा बसाईलाई राजनीतिक कार्यक्रममा भन्दा उद्यमशीलहरुसँगको अनौपचारिक भेटघाटमा केन्द्रित गर्नु भएको बताउनुभयो ।

मेचीनगरको ड्रागन फ्रुट खेती, विर्तामोडको गाईफार्म, गौरादहको लाहा खेती र गौरीगञ्जको धानखेतीमा ओलीले रुचिपूर्वक अवलोकन गरी किसानहरुसँग अन्तरंग कुराकानी गर्नुभएको पोर्तेलले जानकारी दिनुभयो । 


“गौरादहमा नेपालमै ठूलो लाहा खेती र धुलाबारीमा ड्रागन फ्रुटको खेती भइरहेको छ, अध्यक्ष कमरेड त्यहाँ पुग्नुभयो,” ओलीको भ्रमणबारे जानकारी दिदै पोर्तेलले भन्नुभयो–“दसैंका बेला पोहोर परार झापा आउँदा उहाँ धेरैजसो कार्यकर्तालाई भेट्नुहुन्थ्यो । राजनीतिक कार्यक्रममा जानु हुन्थ्यो । यसपाली उहाँले व्यावसायिक कर्ममा लागिरहेका व्यक्तिहरुलाई भेटेर प्रगतिका बारेमा चासो देखाउनुभयो ।”

ओलीले आफ्ना कार्यकर्ताहरुलाई उत्पादनमा जोडिन र अनावश्यक भेटघाटलाई न्यूनीकरण गर्न सन्देश दिनु भएको पोर्तेलको ठम्याई छ । दमकमा अनेरास्ववियूका विद्यार्थीले आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागी ओली विर्तामोडको पुराणमा केहीबेर पुग्नुभयो भने गौरीगञ्जमा पुगेर लिङ्गे पिङमा मच्चिनुभयो । दुहागढीको जुस उद्योगमा पनि पुगेर ओलीले जानकारी लिनुभएको थियो ।

गृहजिल्लामा हरेक वर्ष दसैंको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनु भएको अध्यक्ष ओली यसपाली झापा आउँदा सुरक्षा चुनौति पनि बिगतको भन्दा बढेको थियो । कोशी प्रदेशको नामाकरणबाट असन्तुष्ट पहिचानबादी संघ संस्था र दलहरुले ओली सहभागी कार्यक्रममा विरोध प्रदर्शन गर्दै आएका छन् ।

तर, दसैं शुभकामना कार्यक्रममा आउँदा ओलीले कुनै विरोधको सामना गर्नुपरेन । विर्तामोडको शुभकामना कार्यक्रमस्थलमा मात्र होइन, अनौपचारिक सबै कार्यक्रममा उहाँको सुरक्षाका लागि स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । उहाँले सबैतिर निर्धक्क घुमफिर गर्नुभयो । कुनै पनि कार्यक्रममा उहाँले राजनीतिक टिप्पणीहरु गर्नुभएन ।