२३ वैशाख २०८१, आइतवार

पर्यटन प्रवर्धनका लागि मेची–महाकाली साइकलयात्रा सुरु

११ कार्तिक २०८०, शनिवार
Image

झापा, ११ कात्तिक । पर्यटन प्रवर्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज विहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।

मेचीनगर नगरपालिकाका निवर्त्तमान नगरप्रमुख बिमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर यात्रीहरुलाई विदाई गर्नुभयो ।

मकवानपुरको हिमालयन राइडर्स सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीहरुको सहभागिता रहेको छ ।

सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा व्यक्त गर्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको बताउनुभयो ।

यात्रा क्रममा मुलुकका प्रमुख पर्यटकीय स्थलहरुको अवलोकन गरिने र त्यसको प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताउनुभयो । काँकडभिट्टाबाट झापाको पश्चिमी सीमाना दमकसम्म स्थानीय दुई जना साइकलयात्रीले साथ दिने उहाँको भनाई छ ।

पूर्वीनाका काँकडभिट्टाबाट आज विहान ८ बजे सुरु भएको सो यात्रा आज सुनसरीको इटहरी पुग्ने र दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, साइकल राइडर्स अर्जुन सुब्बा लगायतको उपस्थिति रहेको थियो ।