२३ वैशाख २०८१, आइतवार

सहारा सहकारीले दसैंमा बेच्यो ७० लाखको खसीबोका

१२ कार्तिक २०८०, आइतवार
Image

झापा, १२ कात्तिक । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैंमा रु. ६९ लाख ६० हजार मूल्यको खसीबोका विक्री गरेको छ ।

संस्थाबाट कृषि कर्जा लिएर व्याबसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका कृषकबाट ती खसीबोका नगदै किनेर उपभोक्ताहरुलाई विक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा विक्रीका लागि पठाइने गरेको उहाँको भनाई छ ।

उहाँका अनुसार बिगत वर्षमा पनि सहारा नेपालले आफ्ना सदस्य कृषकको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा विक्री गर्दै आएको थियो । यसपाली पहिलोपल्ट इलामबाट संकलित खसीबोका काठमाडाँैंसम्म लगेर विक्री गरिएको थियो ।

सहारा नेपालको कृषि युनिटका प्रमुख डा. कमलेश्वर भाटले यसपालीको दसैंमा औसत ३० केजीका ४०० वटा खसीबोका विक्री भएको जानकारी दिनुभयो । ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिदा किसानहरु चाडका बेला लाभान्वित भएका थिए ।

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा ती खसीबोका विक्री गरिएका थिए । खसीबोका जिउँदै तौलिएर प्रति केजी रु. ५८० मा विक्री गरिएको डा. भाटले जानकारी दिनुभयो ।

“हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बिमा प्रदान गरिदिन्छौं,” सहारा नेपालको कृषि युनिटका प्रमुख डा. भाटले भन्नुभयो–“कृषकहरुले उत्पादन गरेका खसीबोका बजारिकरणमा पनि प्रत्यक्ष रुपमा सघाउँछौं । उनीहरुका खसीबोका किनेर विक्री गरिदिन्छौं ।”

संस्थाले छ वटा जिल्लामा चार सयको संख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरु बेला किन्ने व्यवस्था मिलाइदिएको उहाँले बताउनुभयो । बाख्रापालक कृषक र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिदा दुबै पक्षलाई फाइदा भइरहेको र बजारिकरणको कुनै समस्या नभएको उहाँको भनाई छ ।

संस्थाले यसपाली दसैंअघि जुम्लाबाट स्याउ किनेर आफ्ना सदस्यहरुलाई विक्री गरेको थियो । कर्णाली प्रदेशको स्याउ लगायत विभिन्न उत्पादनको बजारिकरण र बिउविरुवा उत्पादनमा संस्थाले सहयोग पुर्याउने नीति लिएको निर्देशक लक्ष्मण खतिवडा बताउनुहुन्छ । 

बाख्रापालक कृषकहरुलाई निःशुल्क प्राविधिक सहयोग पुर्याउन संस्थाले पशु चिकित्सकसहित दश जना कर्मचारी परिचालन गर्दै आएको छ । एक लाख ५७ हजार ९२० जना सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार १३० जना ऋणी सदस्य रहेका छन् । संस्थाबाट कृषि कर्जा लिनेहरुको संख्या समेत उल्लेख्य छ ।