४ जेठ २०८१, शुक्रवार

मेचीनगरमा मेची अभियानमार्फत राहत संकलन गरिने

१९ कार्तिक २०८०, आइतवार
Image

मेचीनगर, १९ कात्तिक । जाजरकोट र पश्चिम रुकुममा शुक्रवार राति गएको विनाशकारी भुइँचालोका पीडितका लागि मेचीनगर नगर क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सहयोग संकलन गरिने भएको छ ।

नगरमा क्रियाशील प्रमुख राजनीतिक दलहरुको आज मेची उद्योग वाणिज्य संघमा बसेको बैठकले मेची अभियानमार्फत एकद्वार प्रणालीबाट राहत संकलन गरी नेपाल सरकारको एकद्वार माध्यमबाटै राहत पुर्याइने निर्णय गरेको हो ।

बैठकमा वि.सं. २०७२ सालको महाभुकम्पका बेला स्थापना भएको मेची अभियानलाई पुनः सक्रिय तुल्याएर सोही अभियानमार्फत राहत संकलन गर्दा उपयुक्त हुने दलका नेताहरुले साझा धारणा राखेका थिए ।

राहत संकलनका लागि मेची उद्योग वाणिज्य संघको विपत राहत कोषको बैंक खाता प्रयोगमा ल्याइने र सबै संकलित रकम सोही खातामा जम्मा गरिने मेची अभियानका संयोजक बिजय डालमियाले बताउनुभयो ।

अभियानलाई सबैको सहभागिता जुटाउन सोमवार दिउँसो सामाजिक संघ संस्थाका नेतृत्वहरुसँग वृहत बैठक गरिने उहाँले जानकारी दिनुभयो ।

आजको बैठकमा नेपाली कांग्रेसका झापा क्षेत्र नं. १ का सभापति इन्द्र बुढाथोकीले विपतमा परेका नेपालीहरुको राहतका लागि राजनीतिक मतभेद बिर्सिएर एकजुट हुने मेचीनगरका राजनीतिक दलहरुको विगतदेखिकै विशेषता रहेको बताउनुभयो ।

नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु पोखरेलले नगरभित्रका संघसंस्थाहरुले अलग अलग व्यानर प्रयोग गर्नुभन्दा एउटै व्यानरमा एकद्वार माध्यमबाट राहत संकलन गर्नु उचित भएकाले मेची अभियानमा सबै राजनीतिक दलको सहमति रहेको बताउनुभयो ।

बैठकमा सहभागी नेकपा माओबादी केन्द्रका क्षेत्रीय अध्यक्ष प्रकाश भण्डारी, जनता समाजबादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष विशालकृष्ण बाँस्तोला, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका वडा अध्यक्ष भोला थापाले मेची अभियानमार्फत भुकम्प पीडितका लागि राहत संकलन गर्ने अभियानमा सहमत रहेको बताउनु भएको थियो ।

सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने र राहत संकलन जथाभावी नगर्ने निर्देशन जारी गरेको हुँदा सरकारको उक्त निर्देशनलाई पालना गरिने बैठकका सहभागी मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्रीले बताउनुभयो ।