२३ वैशाख २०८१, आइतवार

झापा उवासंघका पूर्व अध्यक्ष भद्रपुरेको निधन

२२ कार्तिक २०८०, बुधवार
Image

भद्रपुर, २२ कात्तिक । झापाको पुरानो व्यावसायिक प्रतिष्ठान ‘रामप्रसाद पवनकुमार’का सञ्चालक तथा झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार अग्रवाल ’भद्रपुरे’को ७२ वर्षको उमेरमा निधन भएको छ ।

केही समययता अस्वस्थ रहेका अग्रवालको झापाको विर्तामोडस्थित वी एण्ड सी हस्पिटलमा उपचारका क्रममा आइतबार राति निधन भएको उनका भतिजा सनतोष अग्रवालले जानकारी दिए ।

उद्योग–वाणिज्य क्षेत्रका अग्रज एवम् अनुभवी अग्रवाल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय थिए । भद्रपुर गौशालाको सचिवलगायत विभिन्न सामाजिक तथा शैक्षिक संघ–संस्थामासमेत नेतृत्व तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका अग्रवाललाई रक्तचाप र मुटुसम्बन्धी समस्या  थियो ।

स्व. अग्रवालका चार छोरामध्ये मनोज नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको सभापति र रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको जिम्मेवारीमा छन् भने माइला छोरा सञ्जय मारवाडी सेवा समिति बिर्तामोडको सदस्य छन् । साइँला छोरा अजय लायन्स क्लब अफ दमकको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ–संस्थाहरुमा सक्रिय छन् भने कान्छा छोरा विनय विनायक इन्टरप्राइजेजका सञ्चालक छन् ।

अग्रवालका दाजुभाइहरु रामअवतार, डा. पवनकुमार (कनाडा) र सामाजिक व्यक्तित्व सुरेशकुमार अग्रवाल ’भद्रपुरे’ छन् भने भतिजाहरु सञ्चारकर्मी तथा व्यवसायी सन्तोष अग्रवाल, चार्टर्ड एकाउन्टेन्ट सुशील अग्रवालसमेत २९ नाति–नातिना र पनाति–पनातिना छन् ।

हाल झापाको विर्तामोडमा बस्दै आएका स्व. अग्रवालको सोमबार अपरान्ह पवित्र कनकाई नदीमा दाहसंस्कार गरिएको र त्यहाँ जिल्लाका उद्योगी–व्यवसायी एवम् समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

स्व. अग्रवालको जन्म २००८ साल माघ २४ गते भएको थियो ।